कथा : तै, सरदारको बुद्धि फुर्छ कि !
मुलकको पतन नहोस् र दुष्टका हातमा राजनीति नपुगोस भन्ने सोच राखेर वयस्क नारीहरुले एउटा अभिमान थाले ‘वन्ध्याकरण’। गजब भो। फोन, इमेल, विद्युतीय माध्यमका यावत् एकाइहरुमा यो समाचारले महत्व पायो। समाजमा सनसनी फैलियो।
नायकहरु तँ भ्रष्टाचारी कि म? म राष्ट्रघाती कि तँ? तँ विदेशी गुप्तचर कि म? पहिले तेरो सम्पत्तिको जाँचबुझ गराउने कि मेरो? ठगको नाइके तँ कि म? डाकाको सरदार को? हत्या र बलात्कार कसको छाताभित्र हुँदैछ? आर्थिक कारोबारको घोटला किन सुल्झिँदैन?
राज्यका शक्तिशाली संयन्त्र किन निस्क्रिय छन्? दायित्व तेरो कि मेरो? संसद र साना एकाइ सभा/बैठकहरु यस्तै वादविवाद वा आरोप प्रत्यारोपमा समय बित्दै गयो। मुलुकको जनजीवन कुन स्थितिमा चल्दैछ वा चल्दै छैन, राजनीतिको रङ्ग चढेको मानव आकृतिलाई थाहै भएन।
जब बन्ध्याकरणको योजना अभियानका रुपमा थालियो ‘मेरो शरीर मेरो अधिकार’ अन्तर्राष्ट्रिय भनिने नाराले झन् कवचको काम गर्यो। राज्य संचालन गर्ने शक्तिले यस बारे के गर्ने र के नगर्ने निर्णय लिनै सकेन। सल्लाहकारहरु सम्पत्ति संचय गर्ने नशामा एकोहोरो भएका थिए। त्यस योजनासँग प्रत्यक्ष संवाद गर्ने निकाय कुन हो? पहिलो कदम के हो?
विदेशी शक्तिको गुलामी गरेर आफ्ना नागरिकलाई उत्पीडन दिने राजनीतिक दुष्कर्मीको छाता ओढ्नु भन्दा नागरिकले नै सिधैँ विदेशी शक्तिको समर्थन किन नगर्ने? सेकेन्डहेन्ड राज्यसत्ता थाम्ने वाध्यता किन? हामी विश्वास गरेर जिताको राजनीतिक व्यक्तिले अर्काको गुलामी गरेर हामीलाई नै अप्ठ्यारोमा पर्नि हो र? निर्माणको सट्टा ध्वंश गर्ने?’
यसबारे चासो कसैले राखेन। तर ‘स्वतन्त्र संचार सदन’ त्यहाँ पुग्यो। क्यामेराहरु तेर्सिए। ‘राष्ट्रको उत्थानका लागि बन्ध्याकरण’ भन्ने ब्यानरमा क्लिनिक चालु थियो। युवतीहरू पङ्तिवद्ध थिए। प्रश्नोत्तर चल्यो :
‘नमस्कार मैया, हजुर नाम फेरेर प्रश्नोत्तर गरौं कि ? यहाँको नाम?’
‘म कमला कश्यप, म खिमा खतिवडा, म गीता ज्ञवाली, म छाया घर्ती। क्यामेरा घुम्दै गयो—म झाँक्री झोलिका, म धामी ढोलिका, सर्किन सत्या….‘म एउटै प्रश्न गर्छु यहाँहरुले आफ्नो विचार थोरै शब्दमा दिनु होला।’
संचार माध्यमहरु अन हुँदै गए। टेलिफोन र टिभीको स्क्रीनमा मानिस जुट्दै गए। दृश्यहरु प्रश्नोत्तरमा जीवित हुँदै रहे :
‘मैयालाई मेरो प्रश्न, तपाईंले बन्ध्याकरण गर्ने निर्णय लिनु भयो किन होला? यो त डरलाग्दो निर्णय हो नि। हैन र?’
‘राजनीतिक व्यक्ति देशका लागि सोच्दैन भने हामीले सोच्नै पर्ने भो नि। त्यसैले म चाहन्न यस्तै कपूत जन्मियोस र मुलुकलाई अप्ठेरोमा पारोस्। जन्माएर मार्नु वा गर्भपात गर्नुभन्दा आफूलाई बाँझै राख्नु वेश होइन र? मैले यही ठीक सम्झे।’
क्यामेरा सर्यो। ‘मैयालाई पनि त्यही प्रश्न छ। यस्तो घातक निर्णय किन लिनु भो?’
त्यस्तै दुस्ट, लुटेरा शैतान जन्मेलान कि वा भनेर बेलैमा तिनको बाटो बन्द गर्ने प्रतिज्ञा लिएकी हुँ। देख्नु हुन्न देश कसरी लुटिएको छ?’
क्यामेरा घुम्दै गयो, सर्दै गयो। बन्ध्याकरण गर्ने लाइनमा उभिएका उमेरदार युवतीहरुले उत्तर दिँदै गए। चित्र र ध्वनि रकर्ड हुँदै गयो।
मैया, तपाईंको विचार?
‘मलाई मेरो कोखबाट बलात्कारी नजन्मियोस भनेरै मैले यो कदम चालेकी हुँ।’
‘विदेशी गुप्तचर संस्थाको सदस्य भएर आफ्नै मुलुकलाई घुँडा टेकाउने, प्रगतिमा बाधा अड्चन ल्याउने, गोप्य सूचना बेच्ने त्यस्तै राष्ट्रद्रोही सन्तान आउला कि भनेर मैले ढोका बन्द गरेँ। अब विकल्प सोच्ने मौका छैन। अग्रजले सिकाएको पाठ अनुजले नसिक्ने हुन्थ्यो र? म आफ्नो विचारमा छु।’
‘मेरो पनि उहाँसँग मिल्दो विचार छ-विदेशी शक्ति बोलाएर मुलुकलाई भड्कालोमा हाल्ने सन्तान जन्म्यो भने म आफ्नै नजरबाट मर्छु र आत्महत्या गर्नु पर्ने हुन्छ। बरु जन्माउँदै जन्माउँदिन। न बाँस, न बाँसुरी।’
अर्कीले थपी, ‘रेप गर्ने र त्यस्तालाई जोगाउने सैतान मेरा कोखबाट नजन्मोस भन्ने मेरो सोच हो। नारीहरुप्रति हुने गरेको दमन, उपेक्षा र आक्रमण म सहन सक्दिन। अरुलाई भनेर गुहार माग्नु भनेको पार नहुने कुरा हो, त्यसैले म आफैंबाट त्यस्तो शैतानी गतिविधिको रोकथाम होस भन्ने निश्चिय गरेर म पनि यो क्लिनिकमा उपस्थित भएकी हुँ।
‘मेरो पनि धारणा त्यस्तै खालको छ। गलत न्याय दिने न्यायधीश मेरो कोखबाट जन्मेला भन्ने शंकाले म निक्कै पीडित थिएँ। अब निश्चिन्त भएकी छु। त्यसैले म पनि यो लाइनमा छु।’ उसले पीडामोचन हुनसक्ने उपाय ठानी।
‘राष्ट्रको सम्पत्ति हिनामिना गर्ने, भूमि र अधिकार उनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्ने राष्ट्रघाती तत्व म जन्माउन चाहन्न। त्यसैले मलाई यो उपाय सही लाग्यो।’, अर्कीले जवाफ दिई।
‘मेरो पनि भनाई यही हो व्यापार र किनबेचमा जुन घोटला छ नि, मेरो सन्तान पनि त्यस्तै होला भनेर म पनि तर्किएकी छु। कमसेकम राष्ट्रध्वंश गर्ने सन्तान नजन्मोस् भन्ने धारणा मेरो पनि हो।’
हो, देशको भूमि बेच्ने, सीमाना घटाउने, नागरिकता बाँड्ने, पदहरु बेच्ने तथा रोटीबेटीको नयाँ नारा बोकेर बाँच्ने सन्तान मलाई चाहिएन। बरु बाँझै बस्नु निको।’
पत्रकारले क्यामेरा तेस्र्याएर सबैलाई एउटै प्रस्ताव दियो-‘तपाईंहरु आफ्नो सन्तानलाई बाञ्छित मार्गमा लगाउन सक्नुहुन्न र ? आमा वर्गसँग त अपार शक्ति हुन्छ नि हैन र?’
सत्य हो तर सन्तानप्रति संयुक्त लगानी र दायित्व हुन्छ। उत्तिकै ममता र अधिकार हुन्छ। किन्तु आफूले चाहेकै कुरा हुन्छ भन्ने छैन। आमा जुवा खेल्न चाहँदैनन्। किन्तु बाबु अधिकारको दुरुपयोग पनि गर्छ, हठ पनि गर्छ। त्यसैले आमा पराजित हुन्छे। मात्र उ सन्तान मोहले बाँधिन्छे, त्यसैले उ कहिले काहीँ पराजित पनि हुन्छ।
‘स्नेह, शिक्षा र संगतले सन्तानलाई सही संस्कारतर्फ डोर्याउन सकिन्छ नि। हैन र?
‘अवश्य हो, गुरुकुलबाटै अब्बल दर्जाको जनशक्ति तयार पार्न सकिन्छ तर यसमा परिवार र नीति भन्दा राज्य बलियो भइदिँदा सफलता कमै मिल्छ।’
‘प्रश्न थपे है, तपाईंहरु अब आफैं योद्धा भएर किन अग्रसर हुन चाहनु हुन्न? तालिम लिनुहोस, दिनुहोस। योजना बनाउनु होस। युवा पुस्तालाई साथ लिनुहोस र मुलुकमा फैलिएको अराजक चरित्रमाथि धावा बोल्नुहोस।’
‘अनि?’
‘बस्, कंस भएर कसको बिनास गर्ने नि ?’
‘अर्थात ठेकेदार, प्रहरी र कुकुर कि वकील र न्यायाधीश? अर्थात अनागरिक नागरिक कि डन, तस्कर र विचाैलिया ?
त्यही उमेरका विद्यार्थी रिक्रुटमा भर्ती हुन्छन्, त्यही उमेरका विद्यार्थी तपाईका सेना हुन्छन्। स्मरण रहोस आततायीले दुरुपयोग गरे झैँ जनशक्तिका दुरुपयोग नहोस्। विचार फेर्नुहोस्। नेतृत्व लिनुहोस्। हामी तपाईको साथमा हुनेछौं। पत्रकारले थप्यो–स्मरण रहोस् सबै नेपाली नै रहुन, जनजाति, दलित र दशनामी जस्तो चिनिएर होइन। विधानले गरेको अनर्थकारी विभाजन तपाईंहरुको सोचाइमा नआओस्।
संवाद सकियो। क्यामरा बन्द भो। सामाजिकहरुले अब क्यै होला र सुधार आउला भन्ने आश गरे।
‘स्वतन्त्र दैनिकले छाप्यो–‘युवतीहरुद्वारा नागबेली विरोध’ शीर्षकमा सम्पादकीय लेख्योः राज्यले नागरिकको जीवन र धनको सुरक्षा गर्छ भन्ने विश्वास हिजो थियो आज छैन। राज्यशक्ति स्वयं लुटेरा, दुष्ट भएको छ। राज्यको कोष र भूक्षेत्र घटान थालेको छ। युवाशक्ति डराएको छ। राजनीतिक तत्वसँग जुध्न त सक्दैन। पन्सेर वा अर्को बाटो हिँडेर।
असहयोग देखिए पनि राजकीय चिन्तन पथलाई सच्याउने घुमाउरो पद्धति समात्न बााध्य भएको छ। यद्यपि यो कदम अत्यन्त घातक हो–राष्ट्रका लागि यसले पक्कै पनि भविष्य अँध्यारो बनाउछ, किन्तु राजीतिकर्मीलाई उनीहरु तुरुन्तै चेतावनी दिन चाहन्छन्।
फोटो दिन र आफ्नो नाम भन्न नचाहने युवतीले त केसम्म भनिन् भने त्यो सुनेर राजनीति गर्ने अतत्वले आत्महत्या गर्नुपर्ने स्थिति पनि हुनसक्छ। भन्छिन् विदेशी शक्तिको गुलामी गरेर आफ्ना नागरिकलाई उत्पीडन दिने राजनीतिक दुष्कर्मीको छाता ओढ्नु भन्दा नागरिकले नै सीधै विदेशी शक्तिको समर्थन किन नगर्ने? सेकेन्डहेन्ड राज्यसत्ता थाम्ने वाध्यता किन? हामीले विश्वास गरेर जिताको राजनीतिक व्यक्तिले अर्काको गुलामी गरेर हामीलाई नै अप्ठ्यारोमा पर्नि हो र? निर्माणको सट्टा ध्वंश गर्ने?’
उनी प्रश्न गर्छिन, मर्यादा र तहको उल्लंघन गरेर विदेशी तत्वलाई भेट्न मिल्छ ? नागरिकले सुसूचित हुने अधिकार छैन? राज्यका सन्धि र सम्झौताहरु राष्ट्रियस्तरमा छलफल नगरी कुने साध्य विना एक्लैएक्लै गुपछुप गर्न मिल्छ? विदेशी र स्वदेशीसँग गरिने महत्वका नियोग पूरै पारदर्शी हुनुपर्छ भन्ने कानून किन ल्याउँदैन सरकार?
त्यसैले आफूलाई रित्याएर विदेशीलाई पोस्ने र आफ्नो अधिकार कटाएर विदेशीलाई बलियो पर्ने सन्तान हाम्रो गर्भबाट जन्मन नपाओस् भनेर नै हामीले व्यन्धाकरण अभियान चलाएर राज्य शक्तिलाई घुमाउरो बल पुर्याएका हौं। ल्याउन बिस्तारै विदेशी नागरिक ल्याउन र शान्ति सुरक्षा गरुन। के फरक पर्छ र।
कति भन्नु, कति चिच्याउनु, कति विरोध गर्नु? बरु सिधै गुलाम किन नहुनु गुलामी प्यारो लाग्छ भने? हामीलाई २०६० पछिको राजनीतिले यस्तै सिकाएको हैन र? २०६० अघिको राज्यको नक्शा र साँध सीमा आजकासँग तुलना गरेर हेरे, राजनीतिक झोलेको अनुहार आजकासँग तुलना गरेर हेरे, चरित्र छर्लंग हुँदैन र? कता जाँदै छ यो मुलुक? कता तान्दैछ नेता? नेताकै यात्रामा नागवेली बल हो यो अभियान।
भन्छन् यो अभिमान स्कुलमा पनि पुग्छ र कलेजमा पनि फैलिन्छ। पछि सरेर गरेको विद्रोह हो यो। तै सरदारको बुद्धि फुर्छ कि?
Facebook Comment