कलाकार मदनकृष्णसँग उत्तर कोरियाको नाङ्लो जत्रो केकदेखि अमेरिकामा लाजले भात झिकेकोसम्मका कुरा

डिसी नेपाल
४ मंसिर २०७८ ११:२६

अमेरिका । दाइने खुट्टा अघि सार्न खोज्छु, मुस्किल हुन्छ, बडो विचार गरेर खुट्टा अघि सार्नु पर्ने भयो, मुस्किल भयो, म भर्याङ्गमा बसे, अनि हात र मुख चलाएँ । प्रविधिले त्यसलाई मिलाइदियो र मैंले नाचेजस्तो गरेको देखियो।

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आफ्ना पछिल्ला दुई म्युजिक भिडियोमा अभिनय गर्दाको आफ्नो समस्याबारे सरल पाराले जानकारी दिँदै भने, काम नै पूजा हो भन्ने लाग्छ त्यसैले जति सक्दो सक्रियतापूर्वक काम गरिरहेको छु।

विगत केही हप्तादेखि अमेरिकाको भ्रमणमा आएका कलाकार श्रेष्ठले अमेरिकाबाटै आफ्नो पछिल्लो म्युजिक भिडियो सार्वजानिक भएको घोषणा गरेका थिए। अमेरिकाको भर्जिनिया बस्दै आएकी उनकी छोरी सराना श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ह्याप्पी हर्ट (खुसी मन) सार्वजानिक भएपछि डिसी नेपालको आवर लेन्स कार्यक्रममा प्रस्तोता यो पंक्तिकारसँग कुराकानी गर्दै कलाकार श्रेष्ठले आफ्नो कलाकारिता जीवनका सन्दर्भमा सम्झनालायक कतिपय रोचक कुराहरु पनि सुनाएका थिए।

आफ्ना पिता बरिष्ठ कलाकार श्रेष्ठसंगै डिसी नेपालको सो कार्यक्रममा कुरा गर्दै ह्याप्पी हर्ट गीतकी लेखिका एवं म्युजिक भिडियोकी निर्देशक सराना श्रेष्ठले आफ्नो पछिल्लो म्युजिक भिडियो आफ्ना पिता मदनकृष्णका लागि छोरी आफू र छोरा यमन श्रेष्ठले उपहारस्वरुप बनाएको जानकारी दिंदा बरिष्ठ कलाकार श्रेष्ठ केही भावुकसमेत भएका थिए।

सरानाले पितालाई उपहारस्वरुप दिने आफ्नो पूर्वयोजना भए पनि पछि उहाँलाई नै गाउन लगाउँदा राम्रो हुने सल्लाह पाएपछि उहाँलाई नै गाउन लगाएको बताएकी थिइन्। मदनकृष्णसंगै नेपालकी चर्चित गायिका इन्दिरा जोशीले ह्याप्पी हर्ट गाएकी छन् र दुवै गायक गायिकासमेतले सो गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन्।

अभिनय गर्नेक्रममा आफ्नो रोगका कारण आफूलाई समस्या परेपनि दृढतापूर्वक मेहनत गरेर म्युजिक भिडियो बजारमा ल्याएको जानकारी श्रेष्ठले दिएका थिए। (हेर्नुहोस् ह्याप्पी हर्टको म्युजिक भिडियो पनि) ।

‘सुटिङ्गको बेला गाह्रो थियो मलाई पार्किन्सनले गर्दा खुट्टा आफूले चाहेको बेला चल्दैन के। दिमागले कन्ट्रोल गरेर खुट्टा चाल्नु पर्ने । ह्याप्पी हार्ट सुटिंग गरेका बेला पनि त्यस्तै भयो, मदनकृष्ण श्रेष्ठले भने, ‘खुट्टाहरु चलेको थिएन तर हात हल्लाएर अनुहारले हाउभाउ गर्दा पनि चलिरहेको फिल हुँदो रहेछ।’

ड्याडीलाई एकदमै सञ्चो थिएन तै पनि उहांले राम्रो अभियन गर्नुभएको छ, सरानाले डिसी नेपालसंग भनिन्, ‘काम गर्नु नै ठूलो कुरा हो भन्नुहुन्छ ड्याडी ।’ मदनकृष्णले थपे, ‘काम नै औषधि हो । कामले नै फिजियोथेरापीको काम गर्छ । अमेरिकामा पनि जहां बोलाए पनि गइरहेको छु, रमाइलो भइरहेको छ । यसपटकको अमेरिका भ्रमण निकै रमाइलो भइरहेको छ मलाई ।’

कुराकानीका क्रममा श्रेष्ठले कोरिया भ्रमणको रमाइलो प्रसंग सम्झिए । उत्तर कोरियामा मदनकृष्ण र हरिवंशको जोडी सन् १९९७ मा प्रस्तुतिका लागि पुगेका रहेछन् धेरैबर्षअघि।

उनले सम्झिए, ‘त्यो बेला किम इल सुङ्गको बर्थ डेलाई ठूलो उत्सव मान्दा रहेछन् त्यहाँ। संसारभरबाट सेलिब्रेटीहरु त्यहाँ जम्मा भएका थिए। अमेरिकाबाट पनि पुगेका थिए। इण्डिया, पाकिस्तानबाट, यता बेलायत, जर्मन,फ्रान्सबाट पनि सेलिब्रेटी थिए । प्रोग्रम सकिइसकेपछि हामी डिनरमा बसेका थियौं, ठूलो हल थियो, राउण्ड टेबल थियो। त्यहाँ यत्रो केक राख्न ल्यायो। यो केक कल्लाई भनेर सोधें । दिस इज फर यु, युओर बर्थ डे भन्यो त्यो ल्याउनेले। मेरो बर्थ डे १९ अप्रिलमा हो, त्यो कुरा १८ अप्रिलको साँझको थियो। माई बर्थ डे नट टुडे, माई बर्थ डे टुमारो भने मैले तर उसले भन्यो टुमारो अर्लि इन द मर्निंग युआर गोइन व्याक (मेरो बर्थ डे आज होइन भोलि हो भन्दा उसले तिमी भोलि फर्किहाल्छौं अनि केक ल्याएको) भन्यो । केक काट्दा खेरि सबैले ह्याप्पी बर्थ डे टु यु भन्दा साँच्चिकै रमाइलो भएको थियो। नाङ्लोभन्दा ठूलो केक थियो एकदमै ठूलो । दुईजनाले बोकेर ल्याएका थिए त्यहां । विभिन्न राष्टका सेलिब्रेटीहरुलाई सो केक बांड्न लगाएको थिएं । सबै सेलिब्रेटीहरुले आफ्नो आफ्नो भाषामा बर्ड डेको गीत गाएर जन्म दिनको शुभकामना दिए, बडो मज्जा लागेको थियो मलाई।’

भोलिपल्ट त नेपाल फर्कनु नै थियो । प्लेनमा बसियो मदनकृष्णले त्यो क्षण सम्झँदै भने, “प्लेनमा पाकिस्तानको एकजना गायक मेरो नजिक सिटमा परेका थिए। कुराकानी हुँदै गर्दा मैंले आज मेरो बर्थ डे तर हिजो सेलिब्रेसन गर्दा ज्यादै रमाइलो भयो भनें। उसले आफ्नो ब्रिफकेसबाट एउट फूल निकाल्यो र हिन्दीमा बोल्दै भन्यो, ‘मैंने ये फूल क्यूं यहाँ रख्खा मुझे ही मालुम नहीं, ये आपके लिए था, ह्याप्पी बर्थ डे ।’ उसले त्यो फूल प्लेनमै मलाई दिएको थियो, बडा रमाइलो भएको थियो।”

सरानाले ड्याडी मम्मीको हेरचाहको लागि म नेपाल जान्छु भन्ने तयारी गरेको, आफू नेपाल जाने लाइनमा भएको बेला दाइ यमन श्रेष्ठसँग सल्लाह गर्दा दाइले म जान्छु भनेर हिडेको सम्झना गरिन्। भनिन् डिसिजन अलि इमोसनल टाइममा भएको थियो किनकि आमा विरामी हुनुहुन्थ्यो नेपालमा । पारिवारिक सरसल्लाह गर्दा म जाऊँ कि भनेर म अग्रसर भएकी थिएं तर दाइले तिमी बस म जान्छु भनेर ऊ गएको थियो । त्यस्तो निर्णय हामीले बुद्धिमतापूर्वक नै गरेका थियौं ।

मदनकृष्णले यसैबीचमा थपे, ‘मेरी श्रीमतिलाई क्यान्सर भएको बेला छोरी सरानाले विश्व बैंकको त्यस्तो राम्रो जागिर छोडिसकेकी थिइन्, त्यस्तो राम्रो जव छोडेर नेपाल जान तयार हुनु चानेचुने सेक्रिफाइस होइन । अमेरिकनहरुले जव कहां भनेर सोध्दा वल्र्ड बैंकमा भन्ने उत्तर दिंदा वल्र्ड बैंकमा ? ओ माई गड भनेर प्रसंसा गर्थे । तर, उनले जागिर छोडेको भोलिपल्टै नेपालमा भूइचालो गयो ठूलो । त्यसपछि पनि आउन खोजेकी थिइन् हामीले नआऊ नआऊ भन्यौं । डरलाग्दो थियो । भूइचालोपछि लकडाउन भयो, कोभिड आयो त्यसपछि सोच परिवर्तन भयो, यहां अमेरिकामा बसेर पनि नेपालको काम गर्न सकिन्छ भन्ने भइसक्यो ।’

पहिलोपल्ट अमेरिका आउंदाको प्रसंग निकाल्दै उनले भने, सन् १९९० मा आएको, त्यो बेला अमेरिका आउनु सजिलो थिएन, पूर्णांकी नाटक लिएर आएका थियौं हामी । विज्ञापन नाटक देखाउने हिम्मत गरेका आएका थियों । त्यो बेला आउँदा टेलिभिजनको बडा महत्व थियो, टेलिभिजनमा न्यूज आउनु बडा महत्वको कुरा थियो । हामी अमेरिका आउँदा नेपाल टेलिभिजनले महजोडी यसरी अमेरिका प्रस्थान गर्दैछन् भनेर न्यूजमा पनि दियो । व्यापक भएको थियो। आउँदा दुवोको माला लगाइदिएका थिए। क्यान्सास सिटीमा आएका थियौं, एकजना खतिवडाजी हुनुहुन्थ्यो उहाँले खाना खान बोलाउनु भयो, हामी गयौं, जताततै हरियाली ओहो क्या राम्रो भन्ने लागेको थियो। उहाँकहाँ खानाकुराहरु पनि खण्डे थालहरुमा राखिएका थिए । खण्डे थाल उज्याला थिए । यसमा खाइसकेपछि माझ्ने होला भन्ने लागेको थियो तर फ्याक्नु पर्ने रहेछ। त्यो टाइममा हामी पनि यङ्ग यङ्ग थियौं, खाना पनि धेरै धेरै खान सक्ने, अहिले त त्यति खाऊँ खाऊँ लाग्दैन।

एकजना डा.हरि शर्माको घरमा खान बोलाउनु भएको थियो । हामीले त मज्जाले ग्वाम् ग्वाम भात पस्कियौं तर डाक्टरसावले त कत्ति कत्ति भात लिनु भएको त्यो ? ओहो हैट त्यति भात खानु पर्दैन, हेर्नुहोस् म डाक्टर, यसमा यत्ति क्यालोरी हुन्छ भन्नुभो अनि त हामीले लाजले पस्केको भात झिक्यौं । अनि हामीले अरु फलफूल सलफूल खाएर पेट टन्न पार्यौं ।

अमेरिकाको भ्रमणमा युएन विल्डिङ्गमा कार्यक्रम गर्न पाउनु आफूहरुलाई ठूलो कुरा लागेको पनि श्रेष्ठले रमाइलो गरी सुनाए । उनले भने, मेरो साथी दिलकृष्ण श्रेष्ठको सक्रियतामा आएको बेला युएनको बिल्डिंग प्रोग्रम गर्यौं । नर्थ क्यारोलिनामा प्रोग्राम गर्दा चाहिं मैंले डान्स नै गरें लाखे डान्स । झाँक्री डान्स पनि गरेका थियौं । म चाहिं दुब्लो झांक्री । उल्टो थियो मोटोमोटो हरिबंश झाक्री भएर म विरामी हुनुपर्ने दुब्लोमान्छे । म झांक्री भएर हरिवंश विरामी भएको थियो । डिसी नेपालसंगको कुराकानीका क्रममा मदनकृष्ण श्रेष्ठ र सराना श्रेष्ठले नेपालमा भएका कलाकार हरिवंश आचार्यका लागि जन्म दिनको मंगलमय शुभकामना व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *