नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् ।
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सीटीईभीटीका सदस्य–सचिव जीवनारायण काफ्लेलगायतलाई आज मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन् । मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गत कात्तिक १७ गते गरेका थिए ।
भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सीटीईभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ऐन र कानुनबमोजिम तत्काल भर्ना खोल्न निर्देशन दिएको मन्त्री पौडेलले जानकारी दिए ।
“चिकित्सा शिक्षा र सीटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु”, उनले भने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पढनपाठन गराउन मापदण्ड पूरा गरेका छन् । ती २४ कलेजमध्ये १७ निजी हुन् भने सात आङ्गिक छन् ।
Facebook Comment