आगामी निर्वाचन चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

डिसी नेपाल
७ मंसिर २०७८ १०:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटनका क्रममा सोमबार यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्ने उल्लेख गरेका छन् । उनले आगामी निर्वाचनमा चितवन क्षेत्र नं.३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पुर्याउनका लागि आफ्नो उम्मेदवारी रहने बताए ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताए । ती क्षेत्रमा चार अर्ब रुपैयाँको लगानी हुने उनको भनाई थियो ।

किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति रहेको थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २ सय हेक्टर जमिन सिञ्चित हुने छ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ ।
ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख रुपैयाँ खर्च भएको उनको भनाई छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८ सय ७७ हेक्टर जमिन सिञ्चित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *