न्यायालयभित्रको विवाद वार्ताबाट समाधान गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल
![न्यायालयभित्रको विवाद वार्ताबाट समाधान गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल](https://www.dcnepal.com/wp-content/uploads/2021/09/madhab-nepal.jpg)
काठमाडौं ।न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । अध्यक्ष नेपालले भने,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरु कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएकोे विवाद समाधान गर्नुपर्छ ।”
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नाकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुनेगरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताए । चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए ।
Facebook Comment