शिक्षामन्त्री पौडेल विद्यालयको आकस्मिक अनुगमनमा
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज आकस्मिकरुपमा विद्यालयको अनुगमनमा गएका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला उनी त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पुगेका थिए। विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन उनी सो विद्यालयको अनुगमनका लागि पुगेका थिए ।
अनुगमनका क्रममा मन्त्री पौडेलले बालबालिकालाई भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा तीन हजार ७०० विद्यार्थी रहेका छन् । कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या केके छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । “बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो”, उनले भने, “देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।”
उनले शिक्षक तथा विद्यार्थीले थप परिश्रम गरी नमूना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक र विद्यार्थीले गरेको भूमिका नमूना हुने विश्वास व्यक्त गरे ।
Facebook Comment