माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता
![माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता](https://www.dcnepal.com/wp-content/uploads/2021/10/prachanda.jpg)
काठमाडौँ ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे ।
देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिए ।
माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उनले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पारे। सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उनको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गरे ।
पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गरे । विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उनले भने, “जहाँ विचार र छलफलका लागि ठाउँ छैन । तर, जनतालाई भ्रम दिने कोशिस भइरहेको छ । त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन ।”
Facebook Comment