भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारिक उजुरी आएको छैन : निर्वाचन समिति
चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ। उम्मेदवारहरू मत माग्नमा व्यस्त छन्। यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन्। ओली पक्षको उम्मेदवारहरूले भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न सूची नै बनाएका छन्।
कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि बाँडिरहेका छन्। अध्यक्ष पदका उम्मेदवार भीम रावलले आचारसंहितविपरित आफूहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको थाहा पाएपछि आपत्ति जनाएका छन्।
भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची बनाएर बाँडेको विषयमा कुनै औपचारीक उजुरी नआएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए। ‘हाम्रो परिसरमा देखेका जतिलाई निषेध गरेका छौँ र जफत पनि गरेका छौँ। बाहिर कहाँ के भइरहेको छ भनेर हामीकहाँ औपचारीक रूपमा उजुरी आएको छैन’, उनले भने। बाहिर गएर हेर्दा धेरै पर्चा बाँडेको र बदमासी गरेको नदेखिएको उनले दाबी गरे।
भिजिटिङ कार्डको साइजमा हुने गरी प्रचारको कार्ड बनाउन दिइएको तर त्यो भन्दा ठूलो साइजलाई निषेध गरिएको उनले बताए।
Facebook Comment