विश्व बैंकको लगानीका परियोजनाको प्रगतिबारे छलफल
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोससहितको प्रतिनिधिमण्डलबीच बैंकले लगानी गरेका विकास परियोजनाको प्रगति समीक्षा एवं प्रभावकारीताबारे छलफल भएको छ ।
मन्त्री श्रेष्ठसँग आज उनकै कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी तुल्याउने, त्यसलाई दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्ष्यित वर्गका लागि उपयोगी पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्ने सम्बन्धमा विचारविमर्श भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृतरूपमा सञ्चालन गर्न स्थानीय तहमार्फत नमूना सेवा केन्द्रको सञ्चालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने सरकारी योजनाबारे जानकारी दिएका थिए ।
बेरोजगार, गरिब र जोखिमपूर्ण अवस्थामा रहेका समुदायको उत्थानका लागि हाल सञ्चालनमा रहेका सामाजिक सुरक्षा र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बैंकबाट थप सहयोगको अपेक्षा नेपालले गरेको बताए। नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग गरेकामा त्यसको सराहना गर्दै भविष्यमा पनि त्यस्तो सहयोग विस्तार हुने विश्वास व्यक्त गरे।
Facebook Comment