गण्डकी कांग्रेसमा विवादः बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग
![गण्डकी कांग्रेसमा विवादः बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग](https://www.dcnepal.com/wp-content/uploads/2021/12/congress.jpg-1.jpg)
पोखरा ।गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।
यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् । यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ ।
यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ । कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।
Facebook Comment