कला संस्कृति संरक्षणमा जुटौँः पर्यटनमन्त्री आले
![कला संस्कृति संरक्षणमा जुटौँः पर्यटनमन्त्री आले](https://www.dcnepal.com/wp-content/uploads/2021/10/prem-ale.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताएका छन् ।
कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको आज यहाँ विमोचन गर्दै उहाँले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गरे। उनले भने, “समग्र नेपाल संस्कृतिमा विशाल धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन् ।”
पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको बताए । “सङ्गीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ”, उनले भने ।
उनले संस्कृतिलाई साक्षात देखाउने नृत्यबारेमा लेखिएको कृतिले नेपाली वृत्तलाई संसारभर पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री आलले सातवटै प्रदेशमा लेखन हुने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्ने वचन दिए । पुस्तकको समीक्षा गर्दै जगदम्बा श्री पुरस्कार विजेता भैरवबहादुर थापाले नेपालको नृत्य विधालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नृत्य सूत्रले समेटेका विषयवस्तु स्तरीय रहेको कला र संस्कृतिको सम्वद्र्धनमा टेवा पुग्ने बताए ।
Facebook Comment