नारायणगोपाल पुस्तौँ पुस्तासम्म बाँचिरहने छ

डिसी नेपाल
१९ मंसिर २०७८ ११:५५

आज भोलि कलाकार भन्ने उपमालाई बडो सहज ढङ्गबाट लिने गरिन्छ र अलिकति केही गायो तथा बजायो कलाकार कहलाइयो, बस् कुरा सिद्धियो। वास्तवमा, कलाकार भन्ने उपमा बडो गम्भीर छ र पुराना जमानामा कलाकारको ठूलो आदर सत्कार हुन्थ्यो र स्वयं कलाकार पनि आफ्ना तपोबल, साधना र त्यागले श्रद्धाका सच्चा पात्र हुन्थे।

त्यसैले मात्र गाएर, नाचेर र रचेर कोही कलाकार हुन सक्दैन। कलाकारको जो आफ्नो एक निरालापन हुन्छ, जो प्रवृत्ति विशिष्टता र व्यक्तित्व हुन्छ, त्यसैबाट ऊ हूलदेखि पृथक हुनपुग्छ र उसले रचेको तथा गाएको कृति आदि सम्भवतः शाश्वत हुन सक्छ।

यही सन्दर्भमा नारायणगोपालबारे मलाई एकदुई जनाले कुरा सोधेका थिए। जवाफमा मैले यस्तै केही भनेको थिएँ कि-उसलाई अहिले नै किन जोखी हालूँ ? प्रसिद्धिको मात्र कुरा गर्ने हो भने अहिलेको नेपाली सङ्गीत संसारमा नाराणगोपाल एक अद्वितीय गायक हुन्, यसमा दुई मत अवश्य पनि हुँदैन होला।

परिमार्जनको निम्ति समय चाहिन्छ र समय भन्ने जो कुरा छ नि त्यो कालातीत हुन पनि सक्छ, नहुन पनि सक्छ-यो साधक स्वयंमा भर पर्ने कुरा हो। यहाँ यसबेला एउटा कुरा नभनी रहन सक्दिनँ र त्यो के भने कोहीकोही भन्छन् कि नारायणगोपालको ठीक समयमा देहावसान भयो । ऊ बाँचिरहेको भए यत्तिको गाउन सक्थे कि सक्दैन थिए।

मैले भन्न खोजेको कुरा चै के हो भने कलाकारले हजारौँ गीत गाउन पर्दैन न त ऊ हरेक आफ्नो क्षेत्रको प्रथम व्यक्ति नै हुने गर्नुपर्दछ जस्तो कि हामीकहाँ चलन छ कि रेडियो नेपालमा मैले प्रथम गीत गाएँ अथवा एच.एम.भी. कम्पनीमा सबभन्दा पहिले मैले रेकर्ड भरेँ अथवा हङकङको सिटी हलमा गाउने प्रथम नेपाली गायक म नै हूँ आदि आदि।

सिर्जनशील प्रासङ्गिक परिपाटीमा यी कुराहरु कसरी प्रासङ्गिक हुनसक्छ ? संसारमा यस्ता कैयौँ व्यक्तिहरु भए जसले संख्यात्मक कुरालाई महत्व नदिई गुणात्मक कृतिहरु गरेर अमर भए।

हो, नारायणगोपालले पनि यस्तै काम गरेर गए र पिँढी पिडान्तर हामीबीच बाँचिरहन्छ। यहाँनेर एउटा कुरा पनि भनूँ कि नारायणगोपाललाई हामीले अब Preserved गर्नुपर्छ प्रसिद्धीकरण गराउन छोड्नु पर्छ, प्रसिद्ध त ऊ त्यसै पनि थियो। संस्मरणको यस्तो बेला यी कुराहरु प्रासङ्गिक न होला तर एक सङ्गीतकारको नाताले मलाई भन्न मन लाग्यो, कसको के बिग्रला त ?

अर्को कुरा के उल्लेखनीय छ भने झण्डै तीन दशकको अवधिमा नारायणगोपालले आफ्नो गायक (सङ्गीत पनि) को कीर्तिमानलाई कायम गरिरहन सक्यो र उसले गाएका गीतहरुमा केही अभाव भएको मलाई महसुस नै भएन। यसैको प्रसङ्गमा भन्नपर्ने हो भने हामीकहाँ त्यस्ता कैयौँ गायक तथा सङ्गीतकारहरु भए जो खहरेको प्रसिद्धि जस्तै गडगडाएर उठे र हिउँदो आउनुअगाडि नै विस्थापित भए।

नारायण र मेरो सम्बन्ध गायक–गायक तथा सङ्गीतकार-सङ्गीतकारको मात्र थिएन। सम्भवतः कलाकारभन्दा बढेर हाम्रो सम्बन्ध अझ बढी मित्रवत् थियो र बेलाबेला हामी एर्काकाकहाँ भेला भएर रमाइलो पनि गर्‍यो र यति धेरै कलाकार साथीहरु भएको यो काठमाण्डौ सहरमा मैले रमाइलो गर्नजाने घर एउटै नारायणगोपालको थियो।

यहाँ फेरि मलाई एउटा कुरा भन्न मन लाग्यो-मेरो हिसाबले म नारायणगोपाललाई परोक्ष रुपले कलाकारिताको सन्दर्भमा निरीक्षण गरिरहेको हुन्थेँ, सधै त होइन। लाग्थ्यो, यो मान्छे त्यत्ति सम्वेदनशील त छैन (मैले नदेखेको नजानेको हुनसक्छ) र वास्तवमा भन्नु नै हो भने मैले प्रायः नै उसलाई भावुक अवस्थामा भेटिन भने पनि हुन्छ। यति ठूलो गायकमा किन भावप्रधानता देखिँदैन? कैलेकैले म विस्मयमा पर्थे।

एकदिन अप्रत्याशित नै भन्नु पर्‍यो एउटा घटना घट्यो। राति झण्डै साँडे एकतिर हामी दीपको (दीप श्रेष्ठको) घरमा पार्टी खाएर फर्किएका थियौँ र नारायणले नै मलाई उसको बाइकमा लिफ्ट दिएको थियो।

मेरो घरको गेटमा मलाई उतारेर हात मिलाउँदै केही बेझिल स्वरमा भनेको थियो-सोम (हामी एर्काकालाई सोम भन्ने गथ्र्यौ) यस्तै छ है यो जिन्दगी। म फेरि अकमकिएँ। यस्तो झण्डैझण्डै अभावुक मान्छेको मुखबाट कसरी यस्तो मार्मिक कुरा निस्कियो?  मोटर बाइक स्टार्ट गरेर ऊ गइहाल्यो र म चै यही सोच्दै भित्र पसेँ कि किन यो मान्छेले यस्तो बोलीपठायो, बाटोमा कुनै अनिष्ट त हुने होइन?

निकै वर्षअगाडि एक बिहान ऊ मकहाँ आउँछ र अखबारले बेरेको एउटा सिसी टेबिलमा राख्छ । यसो हेर्छ घाँटीभन्दा मुनि केही रित्तिसकेको छ। सोध्छु-यत्ति बिहानै खाने र नारायणजी ? भन्छ-बिहानै मर्निङवाकमा गएको थिएँ। ओ हो ! यो सिजनमा खेतका हरियालीहरु कस्तो रमणीय देखिन्छ मानौँ क्षितिजसम्म फैलिएर गएको छ।

म मनमनै हाँस्छु र सोच्छु कि मैले खोजेको नारायणगोपाल प्रविष्ट भइसकेको छ र मैले परिमार्जनको कुरा जो अघि गरेँ-हो। त्यही हो कलाकारमा हुनपर्ने एउटा खूबी र एउटा अनिवार्यता पनि।

भनेको थिएँ– नारायणजी। अब तपाई साँच्चै नै राम्रो गाउन सक्नुहुनेछ। प्रसँग उसले बुझ्यो कि बुझेन थाहा छैन तर अनौठो तरिकाले उसले मलाई हेरेको थियो र त्यो हेराइमा मानौँ उसले सोधेको थियो के मैले राम्रो गएको छैन र?

हामी गायकहरुमा गायन प्रविधि जो हुन्छ त्यसको विशिष्टता आफ्नै खालको हुन्छ र नारायणगोपालमा त्यसको प्राचुर्य अति तीब्र थियो। उसले भन्ने गथ्र्यो- बिहान रियाज गर्दा घोरका स्वरहरु छाती भित्रबाट निकाल्दा मलाई खूब आनन्द आउँछ। यसको मर्म त अनुभवी साधनकलाई मात्र थाहा हुन्छ। यो मार्मिक अनुभव मलाई भएकोले नै मलाई लाग्थ्यो कि एक विलक्षण गायकमा हुने सबै गुण नारायणगोपालमा छ।

झण्डै २५/२६ वर्षअगाडि एक साँझ दार्जीलिङ्मा हाम्रो प्रथम भेट हुन्छ। हामी एकार्कालाई गीत सुनाउँछौँ, सुन्छौँ र एकार्कादेखि प्रभावित पनि हुन्छौँ । ऊ काठमाण्डौ फर्कन्छ र बडौदा जान्छ अनि हाम्रो पत्रचारी सुरु हुन्छ । म काठमाण्डौ आउँछु र दिनैपछि हाम्रो भेट हुन्छ, दुःखसुखका कुराहरु हुन्छ।

एकरात म उसलाई विहाग राग सुनाउँछु र उसले त्यसमा नि कोमल प्रयोग गरेबापत विरोध गर्छ। म भन्छु-यदाकदा कम मात्रामा नि कोमलको प्रयोग विहाग रागमा गर्नहुन्छ। ऊ मान्दैमान्दैन। भन्छ– खोई त बडौदामा हाम्रा प्रोफेसरहरुले यसो गरेको थाहा छैन- न त मेरो बाले नै (स्मरणीय छ कि उसका बुवा सितारका वस्ताज थिए)  यसो गरेको मैले कहिले सुनिन। भोलिपल्ट मैले यो प्रसङ्ग नै ननिकाली अरु गीत गाउन थालेँ।

भन्छ-अम्बरजी, हिजो तपाईले भन्नु भएको कुरा नै ठीक रहेछ, मलाई थाहा भएन। आफ्नो त्रुटिलाई स्वीकार्न सक्ने यो गुणसँग म त्यत्ति बेला निकै प्रभावित भएको थिएँ। जहाँसम्म मलाई थाहा छ नारायणगोपालले मलाई माया पनि गर्‍यो र आदर पनि तर आदर उसले मलाई उमेरको रुपमा होइन मेरो व्यक्तिगत स्वभाव प्रवृत्तिलाई गथ्र्यो।

हाम्रो लामो उठबसमा यस्ता अनेकौँ घटनाहरु घटे ती सबैलाई यो संस्मरणका सीमाबद्ध पङक्तिहरुमा राख्न सकिँदैन। केही वर्षअघि एकदुई वर्षसम्म हाम्रो बोलीचाली नै बन्द भएको थियो। कुरा यस्तो छ- “मालतीमङगले” गीतिनाटकमा कविवर माधव घिमिरेजीले नारायणगोपाललाई मुख्य गायकको रुपमा अनुबन्ध गराउनु चाहनु हुन्थ्यो तर वहाँलाई हामी दुईबीच बोलीचाली समेत बन्द भएको कुरा थाहा भएछ।

वहाँले मलाई वहाँकै कक्षमा बोलाएर सोध्नुभयो-यस गीतिनाटकमा नारायणगोपाललाई गाउन लाउन पाए कस्तो हुन्थ्यो ? मैले भनेँ– त्यो त झन् राम्रो हुने थियो। तर तपाई दुईमा बोलचालै छैन भनेको सुनेँ- वहाँले भन्नुभयो यसलाई मैले स्वीकारेँ पनि। मेरो असमञ्जसलाई बुझेर होला घिमिरेजीले नारायणलाई स्वयं भेट्नु भएछ।

त्यसपछिको कुरा वहाँकै भाषामा भन्नु हो भने त्यो यस्तो छ-अम्बरजी, मैले हिजो नारायणगोपाललाई भेटेँ र मालतीमङ्गलेबारे कुरा गरे। उसको पहिलो प्रश्न नै-अम्बरले के भन्छ भन्ने थियो। अम्बरले त तपाई जस्तो गायक आए अझ राम्रो हुन्छ भन्थ्यो भनेको सुन्दा नारायणगोपालले म अम्बरलाई माया र आदर गर्छु भन्यो भनेर कविवर माधव घिमिरेले सुनाउनु भयो। त्यसको केही दिनपछाडि घिमिरेजीकै अगाडि हामीले हात मिलायौँ र हाम्रो पूर्ववत् मित्रता फेरि कायम भयो।

यस सन्दर्भमा अर्को एउटा कुरा पनि भनिहालौँ जस्तो लाग्यो र त्यो के भने कुनै रेष्टुराँ तथा बारमा हामी दुई केही रमाइलो खानपिन गर्नुअघि मलाई बाहिर उभ्याएर ऊ भित्र पसेर त्यहाँको वातावरणको बिचार गर्‍यो र वातावरण मेरो स्वाभाव अनुकूलको भए मात्र ऊ मलाई भित्र लान्थ्यो।

हो, यो पनि सत्य हो कि बिस्तार बिस्तार हाम्रो आवतजावत कम हुँदै गयो र भेटघाट पनि धेरै कम हुन थाल्यो। नारायणसँगको लामो कुरा भएको मेरो जीवनको अन्तिम भेट उसकै घरमा दिल्ली जानु दुई दिनअघि मात्र भएको थियो र म फर्केर आउञ्जेल ऊ अस्पताल परिसकेको थियो।

अस्पतालको आई.सी.यू. वार्डमा भएको अन्तिम भेटमा हाम्रो साह्रै छोटो कुरा भयो । गहभरि आँसु पारेर उसले मलाई धन्यवाद भनेको थियो जुन कुरा म कैले पनि बिर्सन सक्नेछैन।

नारायणगोपालको स्वभाव रुष्टताबारे यदाकदा ऊ जीवित हुँदा नै कुराहरु हुन्थे तर त्यसबारे कटुता मात्र पोख्नु न्यायोचित हुन्छ जस्तो मलाई लाग्दैन। कलाकारको जो निरालापन हुन्छ त्यसमा प्रियता मात्र हुनुपर्छ भन्ने पनि केही छैन। आचरण व्यावहारिकतामा पाश्चात्य मुलुकले पनि एउटा कुरा मानेको छ जसलाई अङ्ग्रेजी भाषामा Idio synerasy भनिन्छ।

कलामूलक साधनाको यात्रामा आचरण व्यवहार यदाकदा अब्डेरो किसिमको भएको हामीले विश्वविख्यात कलाकारहरुबीच पनि पाइएको पढेका तथा सुनेका छौँ र ती क्षम्य पनि छन् तर कलाकारले राष्ट्रलाई दिएको योगदानको तुलनामा यी कुराहरु नगण्य साबित हुन्छ। नारायणगोपालले पनि नेपाली साङ्गीतिक–संकृतिको धरातल बनाउन जे योगदान दिएको छ त्यो सराहनीय मात्र नभएर स्तुत्य पनि छ।

(बागीनाको नारायणगोपाल स्मृति अङ्कबाट साभार)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *