अमेरिकाबासी कांग्रेसजनले देउवालाई गरे प्रश्न, अधिवेशन स्थगित गर्न माग
![अमेरिकाबासी कांग्रेसजनले देउवालाई गरे प्रश्न, अधिवेशन स्थगित गर्न माग](https://www.dcnepal.com/wp-content/uploads/2021/12/263323482_2431589680308940_5734260737986187352_n.jpg)
वासिंगटन डिसी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भनिएको जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनबारे देउवालाई प्रश्न गर्दै त्यसलाई स्थगित गर्न आह्वान गरिएको छ ।
बहुमत क्रियाशिल सदस्यका नामबाट एक विज्ञप्ति जारी गर्दै, सबैलाई सहभागी हुने अवसर नदिई कस्तो अधिवेशन गर्दैछौं हामी ? भन्दै देउवालाई प्रश्न गरिएको छ ।
डिसेम्बर ४ तारिकमा सार्वजानिक सूचना जारी गरेर डिसेम्बर ५ तारिक विहान ९ बजेलाई नै अधिबेशनमा सहभागी हुन आह्वान गरेपछि अमेरिकाबासी नेपाली कांग्रेस पार्टीका सदस्य तथा कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई नै संबोधन गरी पत्र लेख्दै स्थगित गर्न अनुरोध गरेका हुन् ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले विगत सात बर्षदेखि कुुनै अधिवेशन नै नगराई एकलौटी नेतृत्व हत्याइरहेको सन्दर्भमा यसपटक पनि एक्कासि अधिवेशनको मिति तय गरी एक दिने सूचना जारी गरेका थिए ।
सभापति विष्टको यो सूचनालाई अमेरिकाबासी कांग्रेसजनले लोकतन्त्रको उपहास भनेका छन् । जनसम्पर्क समितिको अध्यक्ष तथा पदाधिकारीको निर्वाचन गर्नुपर्ने तथा नेपालमा हुन लागेको नेपाली कांग्रेसको महाधिवेशनमा अमेरिकाबाट प्रतिनिधि पनि छनौट गर्नु पर्ने र यसका लागि निर्वाचन समिति बनाएर कार्यतालिकासमेत बनाई उम्मेद्वारी दिन पाउनुपर्ने माग राख्दै देउवालाई लेखिएको पत्रमा यी प्रक्रिया केही नगरी प्रधानमन्त्रीले उद्घाटन गरेर हुन लागेको भनिएको अधिवेशनले स्तब्ध भएको उल्लेख गरिएको छ ।
डिसेम्बर ४ तारिक राति नै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको सचिवालयलाई इमेलमार्फत पठाइएको सो पत्रमा भनिएको छ, ‘सातबर्षसम्म हुन नसकेको अधिवेशनको लागि एकदिनअघि सूचना जारी गरेर अधिवेशनमा सहभागी हुन पाउने आम सदस्यहरुको अधिकार हनन गरिएको मात्र नभई अधिवेशनमा सहभागी भई उम्मेद्वारी दिन पाउने अधिकारबाट समेत सदस्यहरुलाई बञ्चित गरिएको छ । न त निर्वाचन समिति, न त उम्मेद्वारी दिने समय र स्थान, यो कस्तो खालको निर्वाचन गर्दैछौं हामी ?’
नेपाली जनसम्पर्क समिति अमेरिकाका बहुमत क्रियाशील सदस्यहरुका तर्फबाट भन्दै लेखिएको सो पत्रमा डिसेम्बर ५ तारिकको अधिवेशन स्थगित गरी सबैको सहभागिता संभव हुने गरी अधिवेशनको नयां मिति तोकिदिन सभापति देउवालाई आग्रह गरिएको छ ।
(हेर्नुहोस् पत्र)
आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
विषयः नेजसअको अधिवेशन स्थगित गराई पाऊ
महोदय,
उपरोक्त विषयमा नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा हालै सार्वजनिक भएको सूचनामा सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका आदरणीय सभापति शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यमा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन लागेको खबरले अमेरिकाका हामी बहुमत क्रियाशील सदस्यहरू स्तब्ध भएका छौं । सदस्यहरूलाई अधिवेशनमा सहभागी नै हुन नदिने गरी बोलाइएको कार्यक्रममा पद र पार्टी को गरिमालाई समेत ध्यान दिनुहुन सभापतिज्यू समक्ष अनुरोध गर्दछौ ।
सात वर्षसम्म हुन नसकेको अधिवेशनको लागि एकदिन अघि सूचना जारी गरेर अधिवेशनमा सहभागी हुन पाउने आम सदस्यहरूको अधिकार हनन गरिएको मात्र नभई अधिवेशनमा सहभागी भई उम्मेदवारी दिन पाउने अधिकारबाट समेत सदस्यहरूलाई वन्चित गरिएको छ । न त निर्वाचन समिति, न त उम्मेदवारी दिने समय र स्थान, यो कस्तो खालको निर्वाचन गर्दैछौं हामी ? इच्छुक सदस्यले उम्मेदवार हुन कहाँ कहिले कसलाई निवेदन दिने हो ?
आम सदस्यहरूको भावना विपरीत हुन लागेको सो अधिवेशन स्थगित गरी सबैको सहभागिता संभव हुने गरी अधिवेशनको नयां मिति तोकिदिनुहुन आदरणीय सभापतिज्यू समक्ष विनम्र अनुरोध गर्दछौं ।
जय नेपाल !
नेपाली जनसम्पर्क समिति अमेरिकाका बहुमत
क्रियाशील सदस्यहरू
Facebook Comment