बलियो पार्टी र बलियो सरकार बनाउन मलाई जिताउनु होलाः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासन आयो भने देशमा अत्यन्तै डरलाग्दो अवस्था हुने बताएका छन् ।
हिजोको कम्युनिस्ट शासनको र आजको कांग्रेसको शासनमा आकाश जमिनको फरक भएको उनले बताए । ‘हिजो कस्तो डर त्रासमा बस्नुपरेको थियो । देशलाई कम्युनिस्ट शासनबाट मुक्त गर्न हाम्रो सरकार रहनुपर्छ । निष्पक्ष चुनाव हुन्छ । म फेरि सभापति भए भने निष्पक्ष चुनाव गराउँछु,’ उनले भने ।
फेरि तीनै तहका सरकारमा ल्याएर नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पुर्याउन आफू सफल हुने उनले बताएका छन् । ‘हाम्रो इतिहासले प्रधानमन्त्री र पार्टी सभापति एउटै भन्छ । स्थायित्व हुन्छ । पार्टी र राष्ट्र परिचालनको सवाल छ । पार्टी बलियो हुनु जरुरी छ । बलियो कांग्रेस भयो भने राष्ट्र बलियो हुन्छ,’ उनले भने ।
अहिलेको अवस्थामा आफू पार्टी सभापति हुनु अति आवश्यक रहेको उनले बताएका छन् । अहिले बलियो पार्टी र बलियो सरकार बनाउने कि नबनाउने भन्ने प्रश्न प्रमुख रहेकाले आफूलाई निर्वाचित गराउन उनले आग्रह गरे ।
Facebook Comment