निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन सभापति जित्नैपर्छः देउवा

डिसी नेपाल
२६ मंसिर २०७८ २०:४२

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास दिलाएका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नैपर्ने बताए । “प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु । सभापति जितेमा सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हारेमा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ”, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले लामो सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रलाई बचाउन र सुदृढ तुल्याउन पनि कांग्रेसले जित्नैपर्ने बताए । उनले भने, “नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ । पार्टीमा झगडा भइरहेको इतिहास तपाईंहरुलाई थाहा नै छ, गिरिजाबाबुसँग कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीचको झगडा हेर्नुभएको छ, पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ त्यसका लागि अहिले मौका आएको छ । यो शेरबहादुरको लागि मात्र हैन । यो राष्ट्र र प्रजातन्त्रको कुरा हो ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *