कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै
![कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै](https://www.dcnepal.com/wp-content/uploads/2021/12/aaj2.jpg)
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।
कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु महाधिवेशनमा अब ४ सय ८९ जना उम्मेदवार नेतृत्व लिन अघि बढेका छन् । यीमध्ये अब १ सय ३२ जना जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रियामार्फत चुनिँदै छन् । प्रदेश २ तर्फबाट रमेश रिजाल र आनन्द ढुंगाना भने निर्विरोध निर्वाचित बनेका हुन् ।
४ सय ८९ उम्मेदवार, ४७ सय ४३ मतदाता
कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।
निर्वाचनको प्रक्रियामा देशका १ सय ६५ निर्वाचन क्षेत्र र भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । उनीहरूले नै नयाँ नेतृत्व चुन्न मतदान गर्नेछन् ।
निर्वाचन समितिले प्रकाशित प्रकाशित गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्य मात्रै १ सय ३ जना प्रतिनिधि छन् ।
यसैगरी, प्रदेश १ बाट ७ सय ३६ जना, प्रदेश २ बाट ८ सय ७ जना, बाग्मती प्रदेशबाट ८ सय ७९ जना, गण्डकीबाट ४ सय ७६ जना, लुम्बिनी प्रदशेबाट ६ सय ८२ जना, कर्णालीबाट ३ सय १५ जना र सदूरपश्चिम प्रदेशबाट ४ सय १७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । उनीहरू सबै मतदाता हुन्छन् ।
यसैगरी, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट १ सय २५ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, किसान संघ, दलित संघ, मुस्लिम संघ, तामाङ संघसहितका भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ती महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबाट १ सय ९४ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । जर्मनी, मकाउ, बेलायत, नर्बे, इजरायल, बहराइन, यूएई, कतार, ओमन, मलेसिया, साउदी अरेबिया, हङकङ, स्पेन, बेलजियम, दक्षिण कोरिया, अमेरिका, जापान, स्विडेन, भारत, अस्ट्रेलिया, पोर्चुगल, क्यानाडा, डेनमार्क, नेदरल्यान्ड, आयरल्यान्ड, फ्रान्स, कुवेत, साइप्रस र पोल्यान्डबाट गरी १ सय ९४ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यी सबै महाधिवेशन प्रतिनिधिले कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्न मतदान गर्न पाउनेछन् ।
१३ पदाधिकारीका लागि ३७ उम्मेदवार
कुन समूहबाट कोको ?
कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
यसैगरी, उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी, आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम भएको छ ।
सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
सभापतिमा १३औं महाधिवेशनपछि स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले भने देउवालाई सघाएको छ । शनिबार देउवा सभापति पदका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा सिटौलासमेत सँगै गएका थिए ।
यसैगरी, उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदार उम्मेदवार बनेका छन् । यस्तै, डा. कोइरालाको समूहबाट डा. चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट नेत्री सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् भने निधिको समूहबाट दिवेश्वरी शाह उपसभापतिको उम्मेदवार बनेकी छन् ।
यसैगरी, नेता महेश अचार्यले समेत उपसभापतिमा उम्मेदवारी दिएका छन् । तर, उनी कतै पनि खुलेका छैनन् । कांग्रेस विधानमा दुई उपसभापति निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।
यसैगरी, दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । संस्थापन समूहबाट डा. प्रकाशसरण महत र युवा नेता प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बनेका छन् । पौडेल सिटौला समूहबाट देउवा टिममा परेका हुन् ।
यसैगरी, कोइरालाको समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बनेका छन् भने सिंहको समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बनेका छन् । यस्तै, निधिको समूहबाट डा. राजाराम कार्कीले महामन्त्रीको उम्मेदवारी दिएका छन् ।
यसैगरी, विभिन्न आठवटा क्लस्टरबाट छानिने आठ जना सहमहामन्त्रीका लागि १९ जना उम्मेदवार बनेका छन् ।
देउवा समूहबाट महिला सहमहामन्त्री पदमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्दाम्बे, दलित सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, मधेसी सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारू सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
यसैगरी, कोइराला समूहबाट आठ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारूतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे, मुस्लिमतर्फ शेख वकिल र अल्पसंख्यकतर्फ बद्री पाण्डे उम्मेदवार छन् ।
यसैगरी, सहमहामन्त्री रञ्जित कर्ण, गंगा सुनार र चेतराज बजालको उम्मेदवारी कायम भएको छ ।
एक सभापतिसहित ५७ जनाको उम्मेदवारी फिर्ता
पदाधिकारीमा उम्मेदवार दिएका मध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार युवराज न्यौपाने र थारू क्लस्टरबाट सहमहामन्त्रीको उम्मेदवार बनेका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ताका लागि तोकिएको समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।
शनिबार केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५ सय ९ जनाको उम्मेदवारी परेकोमा ५५ जनालेसमेत सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
शनिबार उम्मेदवारको मनोनयन दर्ता गर्दा कुल १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । अब दुई निर्विरोधबाहेक ४ सय ८९ जनाबीच प्रतिस्पर्धा हुनेछ । राजधानी दैनिकबाट
Facebook Comment