कांग्रेस महाधिवेशन : १३४ पदका लागि आज निर्वाचन

डिसी नेपाल
२७ मंसिर २०७८ ६:३६

काठमाडौं। नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साेमबार मतदान हुँदैछ । गत शुक्रबारबाट सुरु भएकाे महाधिवेशनमा आइतबार उम्मेदवारकाे अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानकाे कार्यतालिका निर्धारण गरिएकाे छ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दाेस्राे चरणमा निर्वाचन हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *