पौडेलसँग गोप्य छलफलपछि जासुसको रिपोर्टमा देउवा जित्ने दावी

डिसी नेपाल
२७ मंसिर २०७८ ८:३२

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंग पदको लेनदेन गरेको र त्यसपछि देउवाको पक्षमा नतिजा आउने दावी गरिएको छ।

प्रधानमन्त्री देउवा र नेता पौडेलका बीच पदको बाँडफाँटको सहमति हिजो पौडेल निवासमा भएको र देउवा आगामी निर्वाचनपछि मुलुकको राष्ट्रपति पौडेललाई बनाउन तयार भएको तथा कागज नै गरेर प्रतिबद्धता जनाउन तयार भएको बताइएको छ। यो सम्झौतापछि देउवापक्ष उत्साहित भएको छ।

पहिलोचरणमा बहुमत अर्थात पचास प्रतिशत नपुग्ने पो हो कि भनेर चिन्तित भएका देउवा र उनको समूहलाई रामचन्द्र पौडेलले विपक्षमा नलाग्ने सहमति गरेपछि उत्साहित भएका हुन्।

उनीहरुको उत्साहमा हिजो मुख्य प्रतिष्पर्धी मानिएका कांग्रेस नेता शेखर कोइरालाको पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री डा.सशांक कोइरालाको अनुपस्थितिले पनि उर्जा थपेको छ। पत्रकार सम्मेलनलाई शेखर र सशांक दुबैको पत्रकार सम्मेलन भनिएको थियो तर सशांक अनुपस्थित भएपछि शेखर कोइरालाको मात्र पत्रकार सम्मेलनमा परिणत भएको थियो।

समाचारअनुसार महाधिवेशन प्रतिनिधिहरु अन्तिम रातसम्म परिवर्तन हुनसक्ने आधारको समेत विश्लेषण गर्न खटाइएका गुप्तचर विभागका अधिकारीहरुले चुनावको माहौल देउवाको पक्षमा ढल्किएको रिपोर्ट प्रधानमन्त्री देउवालाई दिएका छन्।

स्रोतका अनुसार, जासुसको यो पछिल्लो रिपोर्टमा, पहिलो चरणमै देउवाले जित्ने र उनले ५२ प्रतिशतको हाराहारीमा मत ल्याउने आंकलन गरिएको छ। तर, नेपालको सन्दर्भमा जासुसका रिपोर्टहरु कहिले कांहीं हावादारीसमेत प्रमाणित भएका कारण देउवाबारेको यो रिपोर्ट कति गहकिलो सावित हुने हो त्यो भने कांग्रेसको आज हुने चुनावले नै देखाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *