चारै सुरक्षा अंगका जासुसको सैनिक मुख्यालयमा बैठक

डिसी नेपाल
१ पुष २०७८ ९:५३

काठमाडौं। नेपाली सेनाको आयोजनामा चारवटै सुरक्षा निकायभित्र रहेका जासुसी संयन्त्रको आन्तरिक बैठक भएको छ। सैनिक मुख्यालयमा मंसिर २६ र २७ गते आन्तरिक बैठक भएको हो।

सो बैठकबारे चारवटै सुरक्षा निकायका अधिकारीहरुले बोल्न अस्वीकार गर्दै आएका छन्। जासुसी संयन्त्रलाई बलियो बनाउने र सूचना संयन्त्रलाई एकै ठाउँमा राखेर विश्लेषण गरी आन्तरिक रणनीति तयार गर्ने उदेश्यले सो बैठक भएको हो।

नेपाली सेनाले सबै सुरक्षा निकायबाट आउने सूचनालाई एकै स्थानमा राखेर विश्लेषण गर्ने र त्यसबाट आन्तरिक रणनीति बनाउने योजना मुताविक जासुसी संयन्त्रको बैठक गरेको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ‘एपीएफ’ र राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत केन्द्रमा रहेका चारवटै सुरक्षा निकायका जासुसी संयन्त्रहरुले सूचना प्रणाली, संयन्त्र, चुनौती, प्रतिसूचनाकारी, चुनौती, आवश्यक आधुनिक प्रविधि र त्यसको सञ्चालन तथा चुनौतीबारे आफ्ना आफ्ना रिपोर्ट पेश गरेको स्रोतको दावी छ।

‘यो विषय राष्ट्रिय हितमै भएकाले यसतर्फ धेरै ध्यान नदिऔ सुरक्षा अधिकारीहरुबीच यस्ता छलफल भैरहन्छन्’, बैठकमा सहभागी एक अधिकारीले भने। स्रोतका अनुसार २६ र २७ गते जंगीअड्डामा ‘इन्टेलिजेन्स वर्कसप’ नाम दिएर सो गोष्ठी भएको थियो।

ती अधिकारीका अनुसार गोष्ठीमा चारवटै सुरक्षा निकायले आ–आफ्ना तर्फबाट जासुसी क्षमता, त्यसको परिचालन, चुनौती र प्रभावकारी रुपमा संयन्त्रको आधुनिकीकरण लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनीहरुले हाल बाहिर नआएको नयाँ सुरक्षानीति र त्यसबाट बनाउनुपर्ने रणनीतिको बारेमा पनि छलफल गरेको स्रोतको दावी छ। चार वटै सुरक्षा निकायले प्रस्तुत गरेको कार्यपत्रमाथि सामूहिक छलफल गरिएको थियो।

वैठकबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले छुट्टा–छुट्टै सुझाव दिएको र त्यसबाट सामूहिक निष्कर्ष निकालिएको स्रोतको दाबी छ।

‘गोष्ठी नेपाली सेनाले आयोजना गरेको हो राष्ट्रिय सुरक्षा र त्यसका चुनौती सामना गर्न ‘जासुसी क्षमता’लाई ‘ठाउँ विशेष’मा एकीकृत रुपमा प्रयोग गर्नुपर्ने पक्षमा छलफल भएको छ’, स्रोतले भन्यो। यसअघि २०७७ माघ २५ र २६ मा सेनाले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने गोष्ठी आयोजना गरेको थियो। त्यस गोष्ठीमार्फत सेनाले सीमा सुरक्षा, नियमन, व्यवस्थापन र सूचना आदान–प्रदानका लागि एकीकृत संयन्त्रबाट नियमन गर्नुपर्ने प्रस्ताव अघिसारेको थियो।

नेपाली सेनामा उपरथीको कमाण्डमा जासुसी युनिट छ । सैनिक विनय महानिर्नेशनालय मार्फत सेनाले देशभर जासुसी संयन्त्र परिचालन गर्छ। नेपाल प्रहरीमा सादा पोशाकमा यूनिटैपिच्छे बसेर काम गरिरहेका हुन्छन्।

खासगरी आतंकवाद, हतियारको अवैध कारोबार, खोटाचलन, अन्तर्राष्ट्रिय नाकाबाट हुने घुसपैठलगायतलाई हेर्न प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआइजी)को नेतृत्वमा विशेष ब्युरो छ। नेपाल प्रहरीको यो यूनिट जासुसी संयन्त्रमा बलियो मानिन्छ।

सो ब्युरो महानिरीक्षकको प्रत्यक्ष कमाण्डमा रहने संयन्त्र हो। सशस्त्र प्रहरीमा एआइजीको नेतृत्वमा कार्य र सीमा विभाग छ। सीमासम्बन्धी सबै मामिला यही विभागअन्तर्गत हुन्छ। त्यसबाहेक सशस्त्र प्रहरी महानिरीक्षक मातहत छुट्टै जासुसी संयन्त्र रहेको छ। राष्ट्रिय अनुसन्धान विभाग देशको प्रमुख जासुसी संयन्त्र हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *