मेलम्ची खानेपानी आयोजनाः टुङ्गो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

डिसी नेपाल
४ पुष २०७८ १७:२५

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौँ ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्नका लागि मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुङ्गो लाग्न नसकेको हो ।

अस्थायी रूपमा पानी ल्याउका लागि विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेबु्रवरीमा ठेक्का अवधि सकिएकामा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । उनले भने, “अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुङ्गो लाग्न सकेको छैन ।”अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्र्तगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले जनाएको छ ।

कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्नका लागि कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । उनले भने, “अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन ।”आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौँ उपत्यका ल्याउने गरी सडक र पुल अस्थायी रुपमा खुलाइसकिएको छ ।

समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्थान्तरण गर्न सकिने उनले बताए । जम्मा दुई हजार ११० मिटर लम्बाइको हेडवर्क सुरुङ र दुई सय मिटर लम्बाइको अम्बाथान अडिट सफा गरेर मात्रै पानी हस्थान्तरण गर्न सकिन्छ ।

समितिले अहिले ती दुबै धेरै नभरिएको छ अनुमान गरेको छ । उनले भने, “धेरै काम बाँकी नभएकाले सुरु भएपछि धेरै समय नलाग्न सक्छ ।” कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले जनाएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *