सुदूरपश्चिममा १४ जनामा कोरोना सङ्क्रमण
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६०४ को नमूना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत १२ र एन्टीजेन विधिमार्फत दुई गरी १४ मा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११ र जिल्ला अस्पताल बैतडीमा एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा दश जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ ।
Facebook Comment