रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं। नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् ।
मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए ।
शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन् । विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन् । थानीले भने २१९९ मत पाए । सुर्खेत क्षेत्र नम्बर २ का नेता थानी पूर्व मन्त्रीसमेत हुन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानी एक भोटले मात्र पराजित भएपछि रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्दा पराजित भएको भन्दै उनी पक्षीय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
महाधिवेशनमा वरिष्ठ नेता पौडेलले मत हालेनन् । उनले मत हालेको भए थानीको जित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको आजको राजधानी दैनिकमा खवर छ।
Facebook Comment