गाँजा र अफिमखेती नष्ट
मकवानपुर । जिल्लाको विकट राक्सिरागङ गाउँपालिकाको दुई वडामा ठूलो क्षेत्रफलमा लगाइएको प्रतिबन्धित लागुऔषध गाँजा तथा अफिमखेती नष्ट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिरागङको ३३ बिघामा लगाइएको गाँजाखेती र १९ बिघामा लगाइएको अफिमखेती फडानी गरी नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरी दङ्गा नियन्त्रण प्रहरी गणबाट संयुक्तरुपमा खटिएको ६० जनाको प्रहरीको टोलीले राक्सिरागङ गाउँपालिका–४ र ५ को विभिन्न स्थानमा लगाइएको गाँजा तथा अफिम खेती फडानी गरेको बताइएको छ ।यसैबीच प्रहरीले अवैधरुपमा काठ ढुवानी गरेको अवस्थामा दुई जनालाई पिकअप गाडीसहित पक्राउ गरेको छ ।
गएराति २ बजे इलाका प्रहरी कार्यालय नेवार पानीबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दै जाने क्रममा हेटौँडा –३ स्थित सडक खण्डमा ८८.६० क्युफिट अवैध काठसहित मनहरि गाउँपालिकाको हाँडीखोलाबाट हेटौँडा–१९ बस्तीपुरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ च १२६० नं को पिकअप गाडीसहित हेटौँडा–१२ का २४ वर्षीय सुशान्त लोप्चन र १८ वर्षीय सुदीप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका व्यक्ति, बरामद अवैधकाठ र पिकअप गाडीलाई प्रहरीले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरिमा पठाएको सो कार्यालयले जनाएको छ ।
Facebook Comment