न्यायालयमा देखिएको समस्याको समाधान सर्वदलीय बैठकबाट खोज्नुपर्छः महान्यायाधिवक्ता

काठमाडौं ।महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो ।
महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए । ‘प्रधानन्यायाधीशको विषयमा गम्भीर प्रश्न कुरा उठेको छ । सरकारले विशेष चासो दिनुपर्नेछ । सर्वदलीय बैठक बसेर भए पनि अगाडि बढाउनुपर्नेछ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन स्वच्छ न्यायपालिकाका विषयमा प्रश्न उठेका छन् ।
प्रधानमन्त्रीज्यूले विपक्षीसँग बसेर, सर्वदलीय बैठक राखेर निकास खोज्नुपर्छ । निकास दिनुपर्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा उनले नयाँ र परिस्कृत कानुन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
Facebook Comment