नेपाली कांग्रेस अछामले ६१ वर्षपछि पायो केन्द्रीय सदस्य

डिसी नेपाल
८ पुष २०७८ २१:३९

काठमाडौं। अछामले ६१ वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा स्थान बनाएको छ । बिहीबार मतगणना सकिएको नेपाली कांग्रेसको १४ महाधिवेशनमा पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्दबहादुर शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

खस आर्यतर्फबाट २ हजार १४ मत ल्याएर उनी निर्वाचित भएका हुन् । २०१७ सालमा नेपाली कांग्रेसको ७ औं महाधिवेशनबाट अछामबाट दिलबहादुर बुढ्थापा पहिलो केन्द्रीय सदस्य भएका थिए । त्यसपछि कुनै पनि महाधिवेशबाट अछाम कांग्रेसका नेता केन्द्रीय समितिमा पर्न सकेका थिएन । अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधी निर्वाचित पूर्वराज्य मन्त्री शाह १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

उनी २०३३ सालमा विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिबाट प्रभावित हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए। २०३५ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएका उनी २०४८ साल, २०५६ सालमा अछाम क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावल र २०६४ सालमा तत्कालीन नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरसँग शाह पराजित भएका थिए ।

२०५५ सालमा शाह १० महिनासम्म सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए । केन्द्रीय सदस्यमा निर्वाचित भएपछिको कुराकानीमा उनले जिल्लामा नेपाली कांग्रेशलाई थप बलियो बनाउन लागिपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *