बागमती प्रदेशमा कांग्रेसका ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ, १८ जनाको मन्त्रिपरिषद्

डिसी नेपाल
९ पुष २०७८ १८:३७

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा मिलनबाबु श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बलराम पौडेल तथा सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपालीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, दीपेन्द्र श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, बलराम पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । प्रजालाई भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, जोन्छेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालीलाई स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । यस्तै राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए।

चौथो पटक विस्तारित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले शुक्रबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

योसँगै बागमती प्रदेशमा १८ जनाको जम्बो मन्त्रिपरिषद बनेको छ । नेकपा (माओवाद केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको सरकारमा चार राज्यमन्त्री र १४ मन्त्री पुगेका छन् ।

प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमागत मङ्सिरमा गठबन्धनको सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍याइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *