गोदावरी उद्योग वाणिज्य सङ्घले पहिचान स्थापना गर्नुपर्छः मन्त्री खड्का

डिसी नेपाल
१० पुष २०७८ २०:४६

काठमाडौँ ।परराष्ट्रमन्त्री डा नारायण खड्काले गोदावरी उद्योग वाणिज्य सङ्घले व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । सङ्घको प्रथम वार्षिक साधारणसभामा आज उनले गोदावरीले आफ्नो बजार स्थापना गर्न लाग्नुपर्ने बताए ।

उनले भने, “गोदावरीबाट विभिन्न वस्तु उत्पादन गरी अघि बढेमा यहाँको अर्थतन्त्र मजबुत हुनुका साथै यहाँको परिचय पनि देशका साथै विदेशमा समेत स्थापित हुने थियो ।” सङ्घमा रहेका व्यवसायीले नयाँ उत्पादनमा जोड दिएर बजार कब्जा गरेमा गोदावरीले थप लोकप्रिय हुन पाउने उनको भनाइ छ ।

गोदावरीका व्यवसायीलाई आवश्यक सहयोग गर्न आफूले पनि सहजीकरण गर्ने मन्त्री खड्काको धारणा थियो । ललितपुर क्षेत्र नं १ प्रदेशसभा सदस्य लालकुमारी पुनले गोदावरीभरिका नागरिकलाई रोजगारी एवं व्यवसायी बनाउने योजनामा सङ्घ लाग्नुपर्ने सुझाव दिए । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले गोदावरीको आर्थिक र सामाजिक विकासमा सङ्घले महत्वपूर्ण भूमिका खेल्नेमा आफूले विश्वास लिएको बताए ।

क्षेत्र नं ३ प्रदेशसभा सदस्य राजकाजी महर्जनले सङ्घ नै नगरपालिकाको व्यवसायीहरूको अभिभावक रहेको सुनाउँदै मुलुकमा गोदावरीको नयाँ चिनारी राख्न सफल हुने अपेक्षा गरेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले सङ्घले गोदावरीभरि रहेका साना तथा घरेलु व्यवसायीलाई समेटेर गुणस्तर उकास्ने काम गरिरहेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *