ज्येष्ठ नागरिक प्रेरणा र गौरवका प्रतीक हुन्ः प्रधानमन्त्री

डिसी नेपाल
१० पुष २०७८ २२:०५

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका हुन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो ।”

उनले उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

“दिनप्रतिनिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरुको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको हो”, सन्देशमा उनले भनेका छन्, “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउँमा सदुपयोग गर्दै त्यसलाई नयाँ पिँढीमा हस्तान्तरण एवं पुस्तान्तरण गर्नु जरुरी छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *