अनि तपाईंले नयाँ सुरुवात गर्न सक्नुहुन्छ, अद्‌भुत बन्न सक्नुहुन्छ

डिसी नेपाल
११ पुष २०७८ ६:२८

काठमाडौं। पछिल्ला केही दिनहरूमा, पृथ्वीमा थुप्रै परिवर्तनहरू भइरहेका छन् र यो प्रक्रिया अझै केही समयसम्म जारी रहने छ । उत्तरायण सुरु भएसँगै सूर्य र पृथ्वीको सम्बन्धमा केही बदलावहरू हुन्छन् । साथै, यस धर्तीका जीवनहरू र सूर्यको सम्बन्धमा केही परिवर्तनहरू हुन्छन् । पृथ्वीमा रहेका सबै उर्जाहरूको स्रोत सूर्य हो ।

ग्रहहरूको गतिविधिमा, उत्तरी गोलार्धमा उत्तरायण भनेको नयाँ सुरुवात, नयाँ सम्भावना अनि कायाकल्प हुनु (पुनः जीवन्त र ताजा हुनु) हो । यो समयमा, वसन्तको आगमनको लागि तयारीहरू भइरहेका हुन्छन् । वरिपरि वातावरणमा र पृथ्वीमा समेत यथेष्ट मात्रामा गतिविधिहरू भइरहेका हुन्छन् । यसलाई सम्भव बनाउनको लागि यस धर्तीका सबै प्राणीहरूले अतिरिक्त समय काम गरिरहेका हुन्छन् ।

सामान्यतया, दुई थरीका मानिसहरू हुन्छन्ः एक थरीले चीजहरूलाई मूर्त रूप दिन्छन् वा साकार बनाउँछन्; अर्को थरीले चीजहरू साकार भयो भने त्यसको आनन्द लिन्छन्, अनि उनीहरूले भनेबमोजिम भएन भने आलोचना गर्छन् ।

जो-जसले चीजहरू साकार बनाउँछन्, उनीहरूलाई तपाईं प्रत्यक्ष देख्न नसक्नुहोला, तर नेपथ्यमा उनीहरू अथक रूपमा काम गरिरहेका हुन्छन् । यो समय, पृथ्वी अनि यहाँ भएका सबै जीवनहरूको निम्ति चोला फेर्नु जस्तै हो । विशेषगरी, उत्तरी गोलार्धमा बाली पाक्ने, फूलहरू फुल्ने अनि फलहरू लाग्न सुरु हुने समय हो ।

थुप्रै मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ— मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु, यहाँ सम्म कि केही त मूर्खतापूर्ण तरिकाले मर्दछन् । अहिलेको समयमा कुनै पनि चीज लोकप्रिय हुनको लागि त्यो मूर्खतापूर्ण हुनुपर्ने भएको छ ।

उत्सव र पर्व भन्ने बित्तिकै हामीमा जुन धारणा रहेको छ, के हामीले त्यसमा पुनः विचार गर्नुपर्दैन ताकि हामी केही सार्थक र अर्थपूर्ण चीजको आनन्द लिन सकौँ ? आउँदो वर्षमा आफूभन्दा केही विशाल चीज साकार हुन दिनको लागि के तपाईंमा प्रतिबद्ध रहने आँट छ ? अरू सबै जीवहरू आफ्नो प्रवृत्ति अनुसार काम गर्छन्, बाँच्छन् अनि प्रकृतिको नियम अनुसार मर्छन् ।

तर, मनुष्य हुनुको अर्थ यो हो कि हामी प्रकृतिका साधारण नियमहरूभन्दा माथि उठी केही यस्तो चीजलाई साकार बनाउन सक्छौँ, जुन हामीभन्दा विशाल छ । तपाईंमा सम्भावना छ— यसको लागि प्रयास गर्ने र यसलाई साकार बनाउने । ′यो मेरो, यो तेरो′ जस्ता धारणाहरूले आफ्ना सीमितता र कमजोरीहरूलाई अझ बलियो नबनाउनुहोस्।

तपाईंले जीवनलाई बचाइरहन सक्नुहुन्न— तपाईंले जीवन बिताउन मात्र सक्नुहुन्छ । चाहे तपाईं यत्तिकै बसिरहनुहोस् वा केही विलक्षण चीज सृजना गर्नुहोस्, चाहे केही मूर्ख्याइँ गर्नुहोस् वा केही सार्थक र प्रभावशाली काम गर्नुहोस्, तपाईं एकदिन अवश्य मर्नुहुनेछ । जेसुकै गरे तापनि, तपाईंले आफ्नो जीवन बिताउनु पर्नेछ— प्रश्न यत्ति हो कि कसरी ? हामीले आफ्नो जीवन कसरी बिताउने भनेर रोज्न सक्नु मनुष्यको सौभाग्य हो ।

अरू सबै जीवहरूको लागि यो पूर्णतः निर्धारित हुन्छ । हामी आफ्नो जीवन कति सुन्दर, कति गहन र कति भव्य रूपमा बाँच्छौँ वा कति मूर्खतापूर्ण तरिकाले, कति व्यर्थ अनि कति शिथिल र सुस्त रूपमा बाँच्छौँ भन्ने कुरा हाम्रै हातमा हुन्छ । म तपाईंलाई नयाँ वर्षको लागि कुनै मूर्खतापूर्ण सङ्कल्प गर्नुहोस् भनेर सुझाव दिँदिन । यो समयमा बाहिरी तहमा थुप्रै परिवर्तनहरू भइरहेका हुन्छन् । मानव जीवनको गुण तबमात्र साँच्चिकै बदलिन्छ, जब हामी आफूलाई भित्री रूपमा बदल्छौँ ।

अन्यथा, हामी संसारको एकदमै सुन्दर स्थानमा रहेर पनि दुःखी महसुस गरिरहेका हुन सक्छौँ । हामी संसारमा जे निर्माण गर्न चाहन्छौँ, त्यसको लागि हामीले थुप्रै शक्तिहरूलाई एकैठाउँमा ल्याउनुपर्ने हुन्छ । तर, तपाईं आफूभित्र जे सृजना गर्न चाहनुहुन्छ, त्यसको निम्ति तपाईंले आफूलाई एकठाउँमा ल्याउनुपर्ने हुन्छ ।

यदि तपाईंले संसारमा केही अद्‌भुत चीज सृजना गर्न सक्नुभयो भने, त्यो गज्जब हुनेछ । तर, कम्तीमा पनि तपाईंभित्र केही अद्‌भुत हुनैपर्छ । यदि तपाईंभित्र अद्‌भुत चीज भइरहेको छ भने, संसारमा सुन्दर चीज सृजना गर्नबाट तपाईंलाई कसैले पनि रोक्न सक्दैन । मानिसहरूले बाटोमा ढिस्को राखेर अवरोध सृजना गर्न सक्छन् । तर, त्यो पनि हाम्रो लागि अवसर हो— गति कम गर्ने, सेरोफेरोमा नजर डुलाउने, मनोरम दृश्यको आनन्द लिने अनि फेरी गति बढाउने ।

यदि तपाईं आफूभित्र साँच्चिकै विलक्षण चीज हुन नदिइकन, संसारमा केही असाधारण चीज सृजना गर्ने कोसिस गर्नुहुन्छ भने, त्यो निरंकुश र विध्वसंक प्रक्रिया बन्न सक्दछ । मानव इतिहास त्यस्ता घटनाहरूले पूरै भरिएको छ । यहाँ सम्म कि एडोल्फ हिटलर, जसको नाम सर्वकालिक खराब व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा आउँछ, उनले समेत यो ठान्थे कि उनी केही सानदार चीज निर्माण गर्न गइरहेका थिए ।

तर, उनी जसलाई सानदार ठान्दथे, त्यसको परिणाम अत्यन्तै भयावह थियो । जब तपाईंभित्र केही भद्दा वा कुरूप भइरहेका हुन्छन्, त्यसबेला तपाईं बाहिर केही सृजना गर्न खोज्नुहुन्छ भने, बाहिरको चीज तपाईंभित्रको कुरूपताको अतिरञ्जित (बढाइचढाइ गरिएको) रूप हुनेछ । अतः यो एकदमै महत्त्वपूर्ण छ कि यदि तपाईं केही रचना गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंभित्र केही अद्‌भुत चीज भइरहेको हुनुपर्दछ । चाहे जेसुकै गर्नुहोस्— अन्ततः तपाईंले संसारमा त्यस्तै केही गर्नुहुनेछ, जस्तो तपाईं वास्तवमा हुनुहुन्छ ।

होसमा आउनुहोस्— तब तपाईं केवल आनन्दित रहन सक्नुहुन्छ । यसको लागि न त कुनै प्रतिज्ञा जरूरी छ, न त संविधानमा कुनै संशोधन नै आवश्यक छ, कि ′यो देशका हरेक नागरिक आनन्दित हुनुपर्छ ।′ एउटै चीज आवश्यक छ— मनुष्यको चेतनालाई माथि उठाउनु । चेतना अभौतिक हुन्छ । भौतिक आयाम एउटा सीमारेखा जस्तै हो । चेतना यस्तो आयाम हो, जुन सीमाभन्दा पर हुन्छ— यो सर्वव्यापक हुन्छ, यसले सबैलाई समावेश गर्दछ ।

तपाईं कि त हाड मासुको थुप्रोको रूपमा मात्रै रहन सक्नुहुन्छ— यस्तोमा परिधि वा सीमा हुनु राम्रो हो । अथवा, तपाईं आफूभित्र त्यो आयामलाई स्पर्श गर्न सक्नुहुन्छ, जसलाई हामी चेतना भन्छौँ— यो सीमाहीन (असीम) हुन्छ । जब तपाईंको अनुभवको कुनै सीमा हुँदैन, तब सम्भावनाहरू समेत असीम बन्छन् । तपाईंले जे सृजना गर्नुहुन्छ, भलै त्यो असीम नभए तापनि तपाईंभन्दा विशाल हुनेछ ।

यो महत्त्वपूर्ण छ । जब तपाईंभित्र तपाईंभन्दा केही विशाल चीज घटित हुन्छ, साथै यो बाहिर पनि सम्भव हुन सक्छ, तबमात्र एक मनुष्यको रूपमा तपाईं सन्तोषजनक ढङ्गले बाँच्नुहुन्छ र मर्नुहुन्छ । अन्यथा, तपाईंले सङ्कुचित र आधा-अधुरो जीवन बाँच्नुहुनेछ ।

यस संस्कृतिमा, उत्तरायणको समयलाई आफूले गरेको कामको फल पाउने अवसरको रूपमा हेरिन्छ— कृषिको सन्दर्भमा अनि अध्यात्मको सन्दर्भमा समेत । थुप्रै साधु, सन्त र योगीहरूले देहत्याग (आफ्नो शरीर छोड्न) को लागि यही समय रोजेका छन् ।

यसको अर्थ यो होइन कि तपाईंको पनि जाने बेला भयो ! तपाईंभित्र रहेका केही पुराना र रद्दी चीजहरू हटाएर ताजा र जीवन्त हुने समय भएको छ । आउनुहोस् हेरौँ, यसबाट के-कस्ता नयाँ सम्भावनाहरूको उदय हुनेछ । नयाँ वर्ष, केही विशेष गर्न वा केही चीज छोड्नको लागि सङ्कल्प गर्ने समय होइन । जमिनमा घिस्रिने जीवहरूमा समेत समय-समयमा पूरानो काँचुली फेर्नुपर्छ भन्ने ज्ञान हुन्छ— हामी तपाईंबाट पनि त्यही अपेक्षा गरिरहेका छौँ ।

जब सर्प, साङ्ला वा अरू कुनै जीवहरूले काँचुली फेर्छन्, उनीहरू केही समयको लागि निर्धो (हमला गर्न सकिने) हुन्छन् । केही दिन वा केही हप्ताहरूसम्म, छाला बिनै प्रकृतिमा रहनु निकै जोखिमपूर्ण हुन्छ । जाबो कमिलाको बथानले नै ज्यान लिन सक्छन् । तर, ती स-साना जीवहरूमा समेत यो जोखिम उठाउने अन्तर्निहित ज्ञान हुन्छ । तपाईंले पनि आफ्नो जीवनमा त्यो जोखिम उठाउने समय भएको छ ।

आउँदा केही दिनहरूमा, तपाईं आफूभित्रबाट यस्ता चीजहरूलाई उक्काउनु होस्, जुन लामो समयदेखि तपाईंभित्र टाँसिएको छ— जुन न त उपयोगी छ, न त तपाईंको लागि राम्रो नै । म लामो समयदेखि तपाईंमा टाँसिएको त्यो बाक्लो छाला (काँचुली) निस्किने समय पर्खिएर बसिरहेको छु । यदि तपाईंले आफूमा रहेका व्यर्थ चीजहरू हटाउनुभयो भने, म तपाईंलाई परम-आनन्दमा चुर्लुम्म डुबाउन सक्छु ।

अब तपाईंमा यो प्रश्न उब्जिन्छ कि, ″मैले आफ्नो छालालाई कसरी निकालूँ ?″ तपाईंलाई थाहै छ यदि तपाईंको शरीरमा कतै काटियो वा कोतरियो वा दरफरियो भने, केही समयपछि त्यसमा पाप्रा बस्दछ । त्यो सुकेर आफैँ झर्नु अगाडि नै हामी सबैजसो त्यसलाई थोरै-थोरै गर्दै उक्काउने गर्दछौँ । त्यसैगरी, यदि तपाईं आफूभित्रबाट लामो समयदेखि टाँसिएको कुरा हटाउन चाहनुहुन्छ भने, थोरै दुःख्छ। हरेक दिन चाल नपाइकनै तपाईंको छालाको पुरानो कोषिकाहरू झर्दछन् । कोषिकाहरू आफैँ झर्दछन्, किनकि उनीहरूको समय सिद्धिएको हुन्छ ।

अब, यदि तपाईं आध्यात्मिक मार्गमा हुनुहुन्छ भने, तपाईं प्रकृतिको सामान्य गतिभन्दा छिटो अघि जान चाहनुहुन्छ । भलै, केही दार्शनिकहरू, आफ्नो स्वाभाव अनुसार, यसमा विवाद गर्न सक्छन् कि यसैपनि बिस्तारै प्रकृतिबाट त्यो भइहाल्छ नि ! एउटै समस्या के हो भने, यो जीवन अत्यन्तै छोटो छ । बाँदरबाट मनुष्यसम्म क्रमिक रूपमा विकास हुनको लागि लाखौँ-करोडौँ वर्षहरू लागेको थियो । तर, तपाईं तीव्र गतिमा अघि बढ्न चाहनुहुन्छ— तपाईं पुरानो छालालाई छिटोभन्दा छिटो उक्काउन चाहनुहुन्छ ।

यो तपाईंको सौभाग्य हो कि तपाईं यहाँ एक मनुष्यको रूपमा आउनुभएको छ, तपाईंसँग समझदारीले काम गर्ने दिमाग छ, अनि तपाईंमा यो चेतना पनि छ कि तपाईंले आफ्नो लागि केही गर्नुपर्छ । केही गर्ने समय यही हो । कसरी ? हामी तपाईंलाई जुन साधनामा दीक्षित गर्छौँ, त्यसमार्फत तपाईं यो गर्न सक्नुहुन्छ । उदाहरणको लागि इनर इन्जिनियरिङ्ग कार्यक्रममा त्यो सामर्थ्य छ— तर यो यसमा निर्भर गर्दछ कि तपाईं कति लगन र समर्पणले त्यसको अभ्यास गरिरहनु भएको छ ।

आफ्नो साधनाको स्तरलाई बढाउनको निम्ति केही दिन आश्रममा आएर बस्नु राम्रो हुनेछ । यसको अर्थ बढी साधना गर्ने भन्ने होइन, बरु जे गरिरहनु भएको छ त्यसलाई प्रखर रूपमा गर्नुहोस् । यदि तपाईंले यस्तो गर्नुभयो भने, फाल्तू चीजहरू आफैँ जानेछन् । यदि तपाईंले हरेक चीजलाई हेर्ने र सोच्ने आफ्नो पुरानो शैलीलाई त्यागेर, तिनलाई ताजा रूपमा हेर्नुभयो भने, तपाईं एक सुन्दर मनुष्यको रूपमा निखारिनु हुनेछ— यो संसार एक सुन्दर स्थान बन्नेछ । तब, यो नयाँ ′तपाईं′ ले समाधानहरू मात्रै खोज्ने छ, समस्याहरू होइन ।

आफूभित्रका व्यर्थ चीजहरूलाई तपाईं आफैँले हटाउनु पर्नेछ । हामीले तपाईंलाई त्यसमा तबमात्र सहयोग गर्न सक्छौँ, जब तपाईं आफूलाई कृपाको लागि उपलब्ध बनाउनुहुन्छ । अर्थात्, तपाईंले आफूलाई नवजात शिशु जसरी राख्नुपर्ने हुन्छ । अहिले तपाईंको उमेर जतिसुकै भएपनि, शिशुको रूपमा तपाईं जीवनलाई कसरी हेर्नुहुने थियो ? हरेक चीज नयाँ हुने थियो— हरेक चीज अद्‌भुत हुने थियो । यदि तपाईंले हरेक चीजलाई नयाँ दृष्टिले हेर्नुभयो भने, म तपाईंको ख्याल राख्नेछु ।

′नयाँ′ भनेकै यही हो— पुरानो अवशेष केही पनि नरहनु । पृथ्वीको लागि नयाँ चरण सुरु भइसकेको छ, र हामी पनि यही धर्तीको अंश हौँ । हरेक चीजलाई त्यसरी हेर्नुहोस्, जसरी एउटा बच्चाले हेर्दछ— हरेक चीजलाई ध्यानपूर्वक हेर्ने, कुनै धारणा नबनाउने, कसैलाई असल वा खराब, ठीक वा बेठीक भनेर छाप नलगाउने, कसैलाई पनि मन पर्ने वा मन नपर्ने व्यक्ति भनेर नछुट्याउने । जीवनलाई यसैगरी हेर्नुहोस् । यदि तपाईंले एकदिनको लागि पनि यसो गर्नुभयो भने, तपाईंले नयाँ सुरुवात गर्न सक्नुहुन्छ अनि अद्‌भुत बन्न सक्नुहुन्छ ।

सदगुरुको प्रवचनमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *