नेपाल भारतबीच सांस्कृतिक सम्बन्ध बढाउने उद्धेश्यले बनारसमा विशेष कार्यक्रम सम्पन्न

डिसी नेपाल
११ पुष २०७८ ११:२८

नयाँ दिल्ली।  नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बढाउने उद्धेश्यले उत्तर प्रदेशको बनारसमा नेपाल-भारत सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

शनिवार बनारसस्थित होटल अमायामा सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए।

त्यस्तै, भारतीय उद्योग परिसंघका राष्ट्रीय उपाध्यक्ष आर के चौधरी, महानगर उद्योग व्यापार समिती, वाराणसीका अध्यक्ष प्रेम मिश्रा र उत्तर प्रदेशको पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहता विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए । ।

समारोहमा बोल्दै कार्यवाहक राजदूत राम प्रसाद सुवेदीले गंगामा नदी मात्रै नभई नेपाल भारतको सम्बन्ध पनि बगिरहेको बताए । नेपालबाट बग्दै आउने नदी गंगामा बग्नु त्यही हाम्रो विशिष्टता भएको उनले बताए।

उनले काशीमा विश्वनाथ र काठमाडौंमा पशुपतीनाथको उदहारण दिँदै यो अवसर नेपाल भारतबिचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई मनाउनु पर्नेमा जोड दिए । उनले भारतीय नागरिक विशेषगरि काँशीका वासिन्दालाई नेपालको धार्मिक क्षेत्रहरुको भ्रमण गर्न पनि आग्रह गरे ।

त्यसैगरी समारोहमा पर्यटन कल्याण संघका अध्यक्ष राहुल मेहताले काशीबाट कुनै पनि कामको शंखनाद भए त्यसको प्रभाव पुरै विश्वमा पर्ने भन्दै नेपाल-भारतको सांस्कृतिक सम्बन्ध आदान प्रदानको कार्यक्रम बनारसबाट शुरुवात भएको भन्दै यसले पक्कै पनि दुई देशको सम्बन्ध झन उचाईमा पुग्ने विश्वास व्यक्त गरे । यस्तै अन्य वक्ताहरुले पनि दुई देशको सम्बन्ध अनादी कालबाट रहेको भन्दै यो सदा रहीरहने बताए ।

बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा पत्रकार एवं सामाजिक कार्यकर्ता रुचि सिंहले आयोजना गरेको नेपाल-भारत सांस्कृतिक आदान-प्रदान कार्यक्रममा नेपालको मारुनी, देउडा, तामाङ सेलो शैलीसहित देश भक्ती गीत र भारतका कत्थक एवं भरत नाट्यमसहित चर्चीत शैलीका नृत्यहरु प्रस्तुत गरिएको थियो।

नेपाली नृत्य टोलीको नेतृत्व उमेश शाहीले गरेका थिए भने भारतको नेतृत्व बनारसका प्रसिद्ध कत्थक नृत्यकार शिव आनन्दले गरेका थिए । कार्यक्रममा बनारसस्थित भारतीय र नेपाली नागरिकहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *