माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत 

डिसी नेपाल
१२ पुष २०७८ १२:५९
काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन्।

अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका थिए।

उनले आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकमा प्रवेश गराउनुभएको राजनीतिक प्रतिवेदनको विस्तृत विवरण आजको बन्दसत्रमा प्रस्तुत गरेका हुन्। यस्तै, नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ।

सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशसहित केन्द्रीय समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभिन्न विभागका सदस्यसमेत रहने गरी समूह विभाजन गर्ने तयारी छ। समूह विभाजनका लागि पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी गरिएको छ।

समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ। अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेका निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ।

त्यस्तै, दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ। त्यसमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ । यस्तै ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ गरिएको छ। राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ । चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा गरिएको छ।

त्यसैगरीे पाँचौँ बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ। छैठौँ बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ।

सातौँ बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन्।

अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन्। यस्तै उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास गरेका छन्।

सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।  आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *