सिके राउतले दिए सिराहाका प्रहरी प्रमुख पाण्डेलाई ‘जनकारबाही’ गर्ने धम्की

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले सिराहा जिल्ला प्रहरी प्रमुख हिराबहादुर पाण्डेलाई ‘जनकारबाही’ गर्ने धम्की दिएका छन्। प्रहरी उपरीक्षक पाण्डेले आफ्नो कार्यकर्तालाई दुर्व्यवहार गरेको भन्दै राउतले जिल्ला प्रहरी प्रमुख पाण्डेलाई सुध्रिन चेतावनी दिएका छन्।
राउतले आफ्नो फेसबुक पेजमा प्रहरी उपरीक्षक पाण्डेको फोटो राखेर यस्तो धम्की दिएका छन्। राउतले भनेका छन्, ‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारबाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ।’
राउतले अगाडि थपेका छन्, ‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला।’ राउत नेतृत्वको जनमत पार्टीले सिराहा जिल्लामा आमहड्तालको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि निषेधाज्ञा घोषणा गरेको छ।
Facebook Comment