माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

डिसी नेपाल
१३ पुष २०७८ १६:२७

काठमाडौँ। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका नेता पुनको सचिवालयले जनाएको छ ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेका हुन् ।

“उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो”, नेता पुनको सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए । थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।

वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहेका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्घाटन अघि नै नेपाल आउन चाहेका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *