उपराष्ट्रपतिले दिए राष्ट्रिय महिला भलिबल टिमलाई बधाई

डिसी नेपाल
१४ पुष २०७८ १२:१२

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भबिल कन्फेडेरेसन (एभीसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीप विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाई दिएका छन्।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर नेपाली टोलीले उपाधि हात पारेको थियो । उपराष्ट्रपति पुनले बुधबार नेपाली टोलीलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपतिको बधाई सन्देश

हिजो (मंगलबार) को दिन सम्पूर्ण नेपालीहरुको हर्षको र नेपाली भलिबलका लागि स्वर्णीम दिन बन्यो । नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभीसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर उपाधीको रक्षा गर्दै किर्तिमान कायम गर्नु राष्ट्रकै गौरव र प्रतिष्ठा उच्चो हुनु हो । नेपाली महिला भलिबल टिमले किर्तिमान कायम गरेको गौरवपूर्ण अवसरमा म अत्यन्त हर्षित छु ।

खुशीयालीको सुखद अवसरमा राष्ट्रको गरिमा बढाउनुका साथै नेपाल र नेपालीको शीर उचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडीहरु, टिम म्यानेजर तथा नेपाल भलिबल संघका पदाधिकारीहरुमा बधाई दिन चाहन्छु । राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीहरुमा धन्यवादसहित उच्च सम्मान व्यक्त गर्दछु ।

भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभइ हिमाल, पहाड र तराईका टोल–टोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो । नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधी अभूतपूर्व, अनुपम एवम् प्रशंसनीय छ । यसबाट नेपाली महिला राष्ट्रिय भलिबलले टिमले ठूलो फड्को मारेको प्रमाणित हुन्छ।

यो अपार सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानुको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरु उच्च मनोबालका साथ मैदानमा उत्रने र यी भन्दा ठूला सफलताहरु हासिल गर्नेमा म विश्वस्त छु । यसै प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको प्रशंसा गर्दछु ।

देशभक्ति भावले ओतप्रोत नेपाली खेलाडीहरुले आगामी दिनमासमेत राष्ट्रप्रतिको प्रेम र समर्पणलाई अटल राख्दै देशको महिमा र गरिमालाई विश्व जगतमा अझै फैलाउने कुरामा विश्वस्त छु । नेपाली भलिबल र समग्र खेलकूद क्षेत्रको विकासका लागि मेरो सदा सर्वदा साथ रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *