राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदाको माग

काठमाडौं । राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।
पूर्वमन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए ।
पूर्वमन्त्री मोदनाथ प्रश्रितले अनेक जातजातिमा बाँडिएका देश नेपाललाई एकीकृत गरेर पृथ्वीनारायण शाहले पूर्वदेखि पश्चिमसम्म चट्ट मिलेको देश निर्माण गरेको बताए । धेरै टाकुराले बनेको देश नेपाल हो भन्दै आफूले पाएको एउटा टाकुराको जिम्मेवारीले पनि पृथ्वीनारायण शाहले सिंगो देश बनाएर नेपाली जनतालाई गुण लगाएको बताए ।
एकीकरणको नायक राजा नै भएको उनको भनाइ थियो । अब सबैलाई समेटेर लैजान पर्ने विशेष दूरदर्शीता भएको नेताको आवश्यकता रहेको उनले औंल्याए । पृथ्वीनारायण शाहको गुणलाई नेपालीले जति नै चर्चा गरे पनि नपुग्ने भन्दै उनकोे योगदानको सम्मान गर्दै सबै जनताप्रति उनले देशलाई दिएको योगदान’bout जागरुक बनाउन पर्ने समय आएको बताए ।
नेपाली कांग्रेसका नेता विपीन कोइरालाले राष्ट्रिय विभूति, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको चर्चा गर्दै विदेशीको हातमा पर्न नदिएर देशलाई जोगाएको स्मरण गराए । उनले भने, ‘देशलाई अंग्रेजको हातमा पर्न नदिएर टुक्रा–टुक्रा राज्यलाई जोडेर पृथ्वीनारायण शाहले देश एकीकरण गर्नुभएको हो ।’ परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एक मात्र व्यक्ति भनेको राष्ट्रपिता पृथ्वीनारायण शाह नै भएको जिकिर गरे । एमसीसीलाई पास गर्न दिन नहुने उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पुस २७ गते सार्वजनिक बिदा नदिए देउवाकै घरमा खुर्पा लिएर विद्रोह गर्ने दिन नओस्, कुनै हालतमा बिदा दिनै पर्छ ।’
रजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पृथ्वीनारायण शाहको जन्म र एकता दिवसको आयोजना जुटाएकोमा खुसी लागेको बताए । पृथ्वीनारायण शाह, एकीकरण र एकताको शब्द एकआपसमा जोडिएको उनका भनाइ थियो । यो मुद्दा राष्ट्रिय विषयका रूपमा उठिरहेको पनि उनले बताए । पुस २७ गते एकता दिवस मनाउनुपर्छ भन्ने नेता नै धेरैपटक मन्त्री भएको तर मन्त्री भएपछि सबै बिर्सिएको आरोप लगाए ।
उनले भने, ‘मुख्य कुरा दिवसभन्दा पनि मर्म र त्यसले दिएको सन्देश हो । त्यसले दिने संकोचलाई जनमानसमा लान नसकेको कारण आज देशको अवस्था यस्तो भएको छ ।’
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रोहितप्रसाद पौडेलले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते सभ्य र भव्य रूपमा मनाउने बताए ।
राष्ट्रिय एकता परिषद्को केन्द्रीय सदस्य रघु न्यौपानेले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक नेपाल आज खण्ड खण्ड भएको बताए । पछिल्लो समयमा राजनीतिक दलले देशलाई विखण्डन गरेको आरोप लगाए ।
बेवारिसे लाश व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतले पुस २७ गते बिदा दिनुपर्ने माग नै आवश्यकता नभएको बताए । उनले भने, ‘यो माग राख्न होइन सरकार आफंैले बुझ्नुपर्छ ।’ राजा कुनै पनि दलको मात्र नहुने भन्दै राजा मात्रै सबै नेपालीको साझा भएको उनको भनाइ थियो ।
त्यस्तै, विजेश्वरी मन्दिरका पुजारी हेमरत्न शाक्यले पुस २७ गते पहिला दिइएको बिदा खारेज गरेकोमा दुःख लागेको सुनाए । कार्यक्रममा राष्ट्रवादी आन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले भने, ‘यो राष्ट्रिय पर्वका रूपमा हर्षोल्लासको साथ मनाइनुपर्छ ।’
३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका संयोजक कृष्णप्रसाद लुइँटेलले देश हिड्नुपर्ने बाटोलाई छाडेर फरक बाटो हिंडेको टिप्पणी गरे । नेपाल र नेतृत्व अहिले गलत बाटोमा हिंडेको उनको भनाइ थियो । राजधानी दैनिकबाट
Facebook Comment