मन्त्री दाहालद्वारा भेहिकल एकेडेमी निरीक्षण

डिसी नेपाल
१७ पुष २०७८ १६:२१

काठमाडौं। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को आज अवलोकन गरे ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ । नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ ।

पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ । मन्त्री दाहाललाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देवेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । सो अवसरमा उनीहरूले मन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन , ‘ट्रायलको कोटा ’वृद्धि गरिदिन , लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए ।

मन्त्री दाहालले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । उनले भने “ लाइसेन्स प्राप्त गर्ने सहज वातावरण तयार गरिदिन प्रदेश सरकार प्रतिवद्ध छ । ” सो अवसरमा यातायात व्यवस्था कार्यालय प्रमुख सञ्जय थापाको पनि उपस्थिति रहेको थियो । कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक सङ्कट परेको जनाइएको छ । “सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ ।

हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत सुविधा पाएका छैनौँ । ” एकेडेमीका सञ्चालक रामनारायण भने ।उनका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुई हजार भन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन । एकेडेमीले सामाजिक दायित्वअन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

यसै गरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । साथै एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याएको महाप्रबन्धक अधिकारीले जानकारी दिए । उनले भने “ एकेडेमीको क्षमता अनुसार ट्रायलको कोटा सरकारले वृद्धि गरिदिनु पर्छ । ”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *