दलित समुदायको आरक्षित निर्वाचन क्षेत्र छुट्याउनुपर्छः अध्यक्ष यादव

डिसी नेपाल
१७ पुष २०७८ २०:४७

काठमाडौं।जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दलित आरक्षित निर्वाचनको प्रावधान हुनुपर्ने माग गरेका छन् ।जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहुँचको लागि आरक्षित क्षेत्र निर्धारण हुनुपर्ने बताए ।

निर्वाचन दिनप्रतिदिन महंगो हुँदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘निर्वाचन महँगो हुँदै गएको छ, दलितहरूको आर्थिक अवस्था कमजोर छ, यस्तोमा प्रदेश २ मा एउटा पनि दलित समुदाय चुनाव जित्न सक्दैन । त्यसकारण उनीहरूको आरक्षण निर्वाचन क्षेत्र हुनुपर्छ ।’विभेद र असमानता हटाउन मधेस आन्दोलन भएको उनले बताएका थिए। ‘दलित समुदायसँग अहिले पनि विभेद यथावत् छ, उनीहरू न्यायबाट वञ्चित छन् । त्यसकारण उनीहरूको राजनीतिक पहुँच बढाउनु आवश्यक छ,’ उनले भने । दलित समुदायमै सबभन्दा बढी महिला हिंसा हुने गरेको उनले बताएका थिए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतले दलित समुदाय हरेक किसिमबाट समाजमा उत्पीडनमा विभेदमा परेको बताएका छन् । दलित समुदायमा एकता र शिक्षाको अभाव रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘दलितको उत्थान र सशक्तीकरणको लागि प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याएको छ, त्यसले दलित समुदाय समृद्धिमा ठूलो योगदान पुर्‍याउने छ ।’प्रदेश सरकारले हरेक निकायमा समावेशी समानुपातिक हिसाबले सबै वर्ग, समुदाय, धर्मका व्यक्तिलाई त्यसको जनसंख्याको हिसाबले प्रतिनिधित्व हुने गरे समावेशी कानुन ल्याएको मुख्यमन्त्री राउतले दाबी गरे ।

प्रदेश २ का हरेक स्थानीय तहदेखि प्रदेश सरकारको हरेक निकायमा जनसंख्याको आधारमा त्यसको प्रतिनिधित्व हुने गरे प्रदेश सरकाले ऐन ल्याएको मुख्यमन्त्री राउतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *