माओवादीले छाड्यो प्रज्ञा भवन, पदाधिकारीको टुंगो पर्सिसम्म लाग्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रभावित हुने देखिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार भोलिसम्म पदाधिकारीको टुंगो लाग्ने बताएका थिए । त्यसका लागि भोलि विहान केन्द्रीय समितिको बैठक बस्ने उनले बताएका थिए । तर सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको उम्मेदवारबारे टुंगो लगाउनेबारे भोलि विहान छलफलको तयारी भएसँगै केन्द्रीय सदस्यको बैठक प्रभावित हुने देखिएको हो ।
जारी महाधिवेशनमा प्रचण्डले २६५ जना केन्द्रीय सदस्यको घोषणा गरेसँगै माओवादी केन्द्रले प्रज्ञा प्रतिस्ठानसमेत छाडेको छ । अब भोलिदेखि माओवादीको बैठकहरु खुमलटार र पेरिसडाँडामा हुने जनाइएको छ । पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको चयन पर्सीसम्म सकिने माओवादी केन्द्रको दाबी छ ।
उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र आज १६५ जनाको केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो । त्यसबीचमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर माओवादीले छलफल गरेको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ प्रचण्डले दिएका थिए । त्यसक्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको प्रचण्डले बताएका थिए ।
१७ पुसमा मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यको निर्वाचन प्रक्रिया सुरु गरेको थियो । महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गरेको माओवादीले जनाएको छ । महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत गरेको थियो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो ।
प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए जसलाई महाधिवेशनले सर्वसम्मतले पारित गरेको माओवादीले जनाएको छ ।
प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
Facebook Comment