कांग्रेस जिल्ला अधिवेशन फेरि सर्याे, राष्ट्रिय सभा निर्वाचनपछि १५ माघमा हुने

काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै २७ पुसमा तय भएको अधिवेशनको मिति सारेको हो। नयाँ निर्णयअनुसार अब १५ माघका लागि अधिवेशनको मिति तोकिएको छ।
यसअघि २७ पुसमा बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेस जिल्ला अधिवेशन गर्न बाँकी छ। केहीमा क्रियाशील विवाद र केहीमा जिल्ला नेताहरूबीच इगोकै कारण १४औं महाधिवेशनअघि ती जिल्लामा अधिवेशन हुन सकेको थिएन।
राष्ट्रिय सभा निर्वाचनअघि जिल्ला अधिवेशन गर्न आन्तरिक तुष बाँकी रहने र त्यसले असर गर्ने अनुमान गर्दै कांग्रेसकै निर्देशनमा निर्वाचन समितिले जिल्ला अधिवेशनको मिति सारेको स्रोतले बतायो।
Facebook Comment