जिल्ला कारागार निरीक्षण
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार दार्चुलाको निरीक्षण गरेका छन् । प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने उद्देश्यअन्तर्गत जिल्ला कारागारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताए ।
अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नुपरेको उनले बताए । उनले कारागारभित्रका कैदीबन्दीका आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दार्चुलालाई रु चार लाख बजेट विनियोजन गरेको जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो ।
यस्तै, चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि आठ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कारागारका जेलर वीरेन्द्र सिंह धामीले जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताए । अहिले २५ पुरुष र १५ महिलाको क्षमता रहेको कारागारमा ६९ जना कैदीबन्दी रहेका छन् । कारागारमा अहिले दुई महिला र ६७ पुरुष रहेका छन् । एकजना नाबालकसमेत छन् ।
विसं २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको जेलर धामीले बताए । जिल्ला भ्रमणमा रहेका मन्त्री जोशीले जिल्लास्थित कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया गरेका छन् भने जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।
Facebook Comment