कांग्रेस धनुषा सभापतिमा निधी गुटमा पजियारको उम्मेदवारी घोषण

काठमाडौं ।नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी मेयर पजियारले बिमलेन्द्र निधी समूहबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रदेश २ संसदीय दलका नेता तथा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पजियारको नाम जिल्ला सभापतिमा प्रस्ताव गरेका थिए भने वर्तमान धनुषा सभापति महेशशंकर गिरीले यादवको प्रस्तावलाई समर्थन गरेका थिए ।
सभापतिको उम्मेदवारको घोषणा गर्दै मन्त्री यादवले अगामी निर्वाचनलाई मध्यनजर गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई राम्रो सिट ल्याउन बलियो व्यक्तिलाई जिल्ला सभापतिमा उम्मेदवार बनाएको दाबी गरे । ‘पार्टी भित्र गुटउपगुट भए पनि निर्वाचनमा जित्ने कांग्रेस नै हो’ मन्त्री यादवले भने,‘त्यसकारण पार्टीको बलियो र संगठनलाई विस्तार गर्न उद्देश्यले पजियारलाई सभापतिमा हामीले उम्मेदवार बनाएका छौं ।’
मेयर पजियारले आफूले पार्टीको संगठन विस्तारदेखि तीन तहको निर्वाचनमा धनुषाबाट पार्टीको राम्रो जित दिलाउन प्रतिबद्धता जनाए । कांग्रेसको आन्तरिक निर्वाचन भए पनि संस्थापन पक्षले प्रहरी प्रशासन लगाएर नेता तथा कार्यकर्तालाई धाकधम्की तथा तर्साउने कार्य हुँदै आएको टिप्पणीसमेत गरे । धनुषा सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विश्वेश्वर यादव समेत आकांक्षी छन् ।
पुस २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने बुधवार कांग्रेस केन्द्रीय कार्यालयले सर्कुलेशन जारी गरेको छ ।
Facebook Comment