मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको छ– मन्त्री यादव

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन्। आज यहाँ आयोजित एक अन्तक्र्रियामा उनले विद्युत्मा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको जानकारी दिँदै यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताए ।
मन्त्री यादवले एक लाख मेट्रिकटन युरिया, दुई लाख मेट्रिकटन डिएपी र आठ लाख मेट्रिकटन पोटासिएम मलको आवश्यकता हुने बताउँदै मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युत्मा नै आधारित मल कारखाना आवश्यक रहेको प्रष्ट पारे । मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै उनले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताए ।
देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण अनि औद्योगिकीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि सरकारले बनाएको २० वर्षे योजनाअन्तर्गत कार्य गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताए।
Facebook Comment