आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छः महासचिव पोखरेल

काठमाडौं ।नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । एमाले सिरहाको १०औँ जिल्ला अधिवेशनलाई लहानमा आज सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने र एमाले प्रदेश २ कै ठूलो दल बन्ने दाबी गरे।
तराई–मधेसका जनताले अब जातीय र क्षेत्रीय मुद्दाभन्दा विकास खोजिरहेकाले एमालेको लहर तराई–मधेसमा पनि बढ्दै जान थालेको बताउँदै उनले अन्तरद्वन्द्वमा खेलेर एमाले पार्टीलाई कमजोर बनाउन खोज्नेहरू आगामी निर्वाचनबाट परास्त हुने जिकिरसमेत गरे। तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उनले जति चाँडो निर्वाचन भयो त्यति चाँडो निकास र विकासको बाटो खुल्ने भएकाले कुनै पनि बहानामा निर्वाचनलाई पर सार्ने काम गर्न नहुने बताए ।
कार्यक्रममा एमालेको सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरु ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल लगायतले सम्बोधन गरे। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।
Facebook Comment