एमाले अछाममा ओली भर्सेस रावल, मतगणना हुँदै

डिसी नेपाल
२८ पुष २०७८ १४:३८

अछाम। एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियाे । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएकाे हाे।

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए। उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए।

अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गरेका थिए। अछामको एमाले नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष केपी ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन्।

बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन्।

उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन्। बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन्। उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लिलाराज केसी बोहरा निकट मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *