पार्टीमा कुनै असहजता छैनः गच्छदार

काठमाडौं। नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसकेको प्रसङ्ग उल्लेख गरेका छन् ।
उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे।पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट पारे ।
उनले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई विर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उनको सुझव थियो।
Facebook Comment