लुटेरा समूहको आक्रमणबाट प्रहरी सहायक निरीक्षक पोखरेल घाइते
काठमाडौं। धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन्। लुटेरा समूहको आक्रमणबाट घाइते भएका असई मनोज पोखरेललाई जनकपुर प्रादेशिक अस्पतालमा उपचारलागि भर्ना गरिएको छ।
उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेका अनुसार धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई पोखरेललाई गएराति लुटेरा समूहले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट लागेको छ।
बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथि आक्रमण भएको थियो। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट घर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइललगायत सामान लुटपाट गरेका थिए।
त्यसलगतै पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेपछि उनिमाथि आक्रमण भएको हो। प्रहरीका अनुसार लुटिएका पासमान बटेश्ववर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै थिए। महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली फर्किँदै गर्दा राम्रो चोकमा रोकेर सामान लुटपाट गरिएको थियो।
लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर ल्याउने क्रममा लुटेरा समूहले घेरेर असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा प्रहार गरेका थिए । प्रहरीले स्थानीय रामजीवन ठाकुर लगायतका केही व्यक्तिलाई पक्राउ गरेको छ।
Facebook Comment