हिमानीले भनिन्-जहाँ नेपाली बस्छन् त्यहाँ नेपाली आत्मा हुन्छ’

वासिंगटन डिसी। पूर्वयुवराज्ञी हिमानी शाहले जहाँ नेपालीहरु बस्छन् त्यहाँ नेपाली आत्मा हुने बताएकी छन्। अमेरिकावासी नेपालीहरुलाई नेपालका नेपालीहरुको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले प्रसंसा पनि गरिन्।
वासिंगडन डिसी मेट्रो एरियामा आफ्ना नामबाट सञ्चालित हिमानी ट्रष्टको कार्यालय उद्घाटनका क्रममा उनले सो कुरा बताएकी हुन्। अंग्रेजी भाषाको लिखित भाषण पढ्दै पूर्वयुवराज्ञी हिमानीले नेपाल र नेपालीका लागि सहयोगको आहवन पनि गरेकी छन्।
अमेरिकाको भर्जिनिया राज्यको लिजवर्ग सहरमा हिमानी ट्रष्टको अमेरिका कार्यालय जनवरी १९ देखि शुरु भएको औपचारिक घोषणा गरिएको छ। हिमानीले पानसमा बत्ती बालेर आफ्नो नाममा खोलिएको ट्रष्टको अमेरिकास्थित कार्यालयको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा अमेरिकी सिनेटका सिनेटर मार्क वार्नरले हिमानीलाई मानवीय सेवाको कार्य गरेवापत लिखितरुपमा शुभकामना पत्र पठाएको जानकारी दिइएको थियो। सिनेटर वार्नरका प्रतिनिधि बो मिचायलले सो पत्र पढेर हिमानीलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी भर्जिनिया स्टेट डेलिगेट, लाउडन काउण्टीकी सुपरभाइजरका साथै अन्य केही अमेरिकी प्रतिनिधिहरुले पनि आआफ्नो शुभकामना पत्र पढेर हिमानीलाई हस्तान्तरण गरेका थिए।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको संयोजनमा सम्पन्न सो कार्यक्रमलाई नेपाल टेलिभिजनकी चर्चित समाचारवाचिका रमा सिंहले सञ्चालन गरेकी थिइन् भने हिमानी ट्रष्ट नेपालका तर्फबाट उत्तम निरौला र रेश्मा राणाले आआफ्नो मन्तव्य राख्दै नेपालीहरुलाई सहयोग गर्न अपिल गरेका थिए।
उनीहरुले नेपालका ५३ जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, महिला र वालवालिकाका लागि हिमानी ट्रष्ट विगत १० बर्षदेखि क्रियाशील रहेको जानकारी गराएका थिए। उद्घाटनको औपचारिकताकै क्रममा उपस्थित नेपाली समुदायका व्यक्तिहरु बसेको टेवल टेवलमै गई हिमानीले सबैलाई व्यक्तिगतरुपमा समेत भेट गरेकी थिइन्।
कार्यक्रम आयोजकहरुलागि साना साना वालिकाहरुलाई एकैरंगका चौबन्दी चोली र फरिया लगाइदिएर पञ्चकन्या बनाई उनको स्वागतका लागि पुष्पगुच्छा दिन लगाएका थिए।
कार्यक्रममा सहभागी भई ५ सय र सोभन्दा बढी रकम ट्रष्टलाई दान दिनेहरुलाई हिमानी शाहले नै प्रमाणपत्र दिएकी थिइन्। कार्यक्रमको डिसी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो
डिसी क्षेत्रमा केही दिन बस्ने हिमानीको अर्को कार्यक्रम जनवरी २६ मा न्यूयोर्क रहेको बताइएको छ। छोरा हृदयेन्द्रविक्रम शाहलाई विश्वविद्यालय भर्ना गरिसकेपछि हिमानी शाह आफ्नो ट्रष्टको काममा अमेरिकामा सक्रिय भएकी हुन्।
Facebook Comment