कथा : पुतली

डिसी नेपाल
८ माघ २०७८ ९:१५

मोतीमान साहूको पसल। पसलको प्राङ्गण चुम्न आइपुगेको थियो, एउटा रातो भ्यान। भ्यानबाट उत्रियो एउटा अजङ्गको मानिस। नाम पुष्कर, जसको शरीर गठिलो र अनुहार गोरो थियो। उसको ज्यामीले कार्टुनहरू घरभित्र ल्यायो। सकस भएर ठसठसी कनिरहेको थियो बिचरा। कब्जियतले थला परेको रोगीले चर्पीमा यातना पाएजस्तो थियो उसको हालत । तर मोतीमानले वास्तै गरेन।

पुष्करले झर्केर सोध्यो- ‘ए मोतीमानजी, भन्नोस् न सामान कहाँ राख्ने ? उसको हात गलिसक्यो।’

-‘इः ह्याँ मेरो टाउकाँ राख्न लगाऊ।’ त्यत्तिकै कड्कियो मोती साहू। विवादको शिकार बिचरा भरिया भयो । कार्टुनहरू खसेर फर्सीको हालत व्यहोर्न पुगे । मार्बले भुइँमा तेलको प्याकेट फुटेर कुलो लाग्यो।

कम्पनीको सेल्स म्यान पुष्कर करायो- ‘अब त चित्त शान्त भो होला नि तिम्रो ! यो खेर गएको सामानको पैसा कस्ले तिर्छ?’

– ‘कुन्नि कस्ले तिर्छ, मलाई के था ?’ आम्मै! मोती त झगडा गर्ने सुरमा पो देखियो। ऊ जाग्न थाल्यो, ‘मैले सामान मगाएकै थिइनँ’ भनेर। पसलमा सामान राखी नसकेको हुँदा मोती साहूले ‘पैसा तिर्दिनँ’ भन्दै अड्डी लियो। पुष्कर एक हप्ताअघिको दृष्टान्त दिन्छ। त्यो दिन चिनीको बोरा फुटेर खेर जाँदा मनकुमारीले रु.९००-असुल गरेकी थिइन्।

अहँ, मोतीले तेलको पैसा तिर्न मानेन। पुष्करले पुतली भाउजूलाई खोज्यो। अनि त मोतीमानलाई रिस उठिहाल्यो। खाद्य कम्पनीको सेल्स म्यान पुष्कर र मोती साहुकी पत्नी पुतलीका कुरा मेल खान्थे। पुष्करलाई एक हप्ता देखिनन् भने पुतली भाउजू नियास्रिन्थिन्। पहिलो प्रेमीजस्तो थियो पुष्कर। तर त्यतिखेर पुतलीले चालै पाइनन्। जब भ्यान फर्केको आवाज सुनिन्, तब माथिबाट कुदेर आइन्। अफसोस्! अघि पोखिएको तेलमा चिप्लेर पछारिइन् उनी । बायाँतिरको फिला बजारियो । गोडा खोच्याउँदै पतिलाई झपारिन् । धारे हातले पतिको पुर्पुरोमा हान्न खोजिन्।

पति हाँस्दै जानकारी गराइदिन्छ, यो तेल पुष्करेको कामदारले पोखाएको हो। पसललाई केही घाटा छैन। पुतली पतिसँग अझ रिसाइन्। उनको विशेष काम थियो। पुष्करलाई नभेटी भएको थिएन। उनले सामान पनि अर्डर गरेकी थिइन्। पतिले खबर नदिएको हुँदा सजायको भागीदार उही भयो। पुतली छतमा लुगा धुन लागेकी रहिछन् । माथि गएर पतिका लुगाजति त्यस्सै सुकाइदिइन्।

पुतलीले पुष्करको सहयोग पाएर गाडीको लाइसेन्स पाइसकेकी थिइन्। उनले लोकसेवाको फाराम भरिन्। छोरीले पत्याइन्। पतिले त झनै कडा आलोचना गर्‍यो। पसल चलाउन छाडेर सरकारी नोकरी गर्ने ? त्यो पनि चालक पदमा ? मोतीमानसामु पुष्करको कालो छायाँ ठिङ्ग उभिन आइपुग्यो। खासमा भ्रम थियो त्यो। त्यो पुष्करलाई अहिल्यै निमोठेर मार्न पाए..! उफ ! कत्ति नमिठो भाव पलायो उसको मनमा।

पुष्करको खाइलाग्दो ज्यानप्रति पुतली आकर्षित थिइन्। उसले ड्राइभिङ सिकाउन थालेपछि त पुतलीको दिलदिमाखमा पुष्करकै नाम कुँदिएको थियो। त्यसैले त पुष्करले मनपेट पाएको थियो र उनको पतिकै सामु अश्लील ठट्टा उडाउँथ्योे । मोतीमान रिसाइदिन्थ्यो । तर पुतली भाउजूलाई साह्रै घत पथ्र्यो र स्तन हल्लिने गरेर हाँस्थिन्। पति भित्रभित्रै मुरमुरिन्थ्यो । वास्तवमा पुतलीको सुन्दरता वयान गर्न लायक नै थियो।

गर्मी याममा पुतली भाउजू पसलमा बस्दा व्यापार चौबर हुन्थ्यो। उनको फेसनप्रति ग्राहकहरू हुरुक्कै हुन्थे । तथापि, उनका लागि पुष्करका काँध नै प्रिय थिए । उनले पुष्करका काँधलाई साँढेको जगरको उपमा दिएकी थिइन्। पुष्करको जुँगा पनि उत्तिकै प्रिय वस्तु थियो।

पुतली पतिलाई साह्रै हेपेर भन्थिन्-‘छ्याः महिलाजस्ती देखिन्छौ तिमी त । मर्द हुनु त पुष्करजस्तो । जुङ्गामुठे ओठ मुसुक्क मुस्काउँदा हिमालजस्तो देखिन्छ । कत्ति सुन्दर !’
-भयो सुन्दर !’ मोतीमान डाहाले तीव्र आलोचना गर्दथ्यो— ‘असिनाको गेडो छुन त डराउने महिलालाई हिमाल राम्रो लाग्ने!’

अर्को दिन बिहान मोतीमान बाथरुम गएको मौकामा जेठी छोरी गाजलीले कन्तुर सफाइ कार्यक्रमलाई नवीकरण गरी । एक हजारको नोट थियो । उसले जङ्कफुडका केही प्याकेटहरू पनि ब्यागमा हाली र टाप कसी।

गाजलीले त्यो पैसा आफ्नो ब्वाइफ्रेण्ड प्रतापलाई दिई । केही पर नीलकाँडाको झाङ थियो । त्यसैको छेको लागेर एकपल उनीहरूले माया साटासाट गरे।

स्कुल जाने चौबाटोमा सधैँ उनीहरूको भेट हुन्थ्यो । प्रताप कक्षा १० मा पढ्थ्यो । गाजली गणितमा धेरै नै कमजोर थिई । प्रतापसँग उसको मन मिल्न गएको थियो।

गाजलीले प्रतापलाई केही पटक घरमा लगिसकेकी थिई । आमाले एक दिन साफसँग झपारिन् । लभसभको चक्करमा लागी भनेर घरबाट गलहत्याएर निकाल्दिन्छु भन्दै साह्रो धम्क्याएकी थिइन् । तर छोरीले हाँसेर टारिदिएकी थिई।

दिनहुँ पसलको हिसाब बिग्रन थालेपछि पुतलीका जोईपोइबीच झगडा पर्न थालिसकेको थियो । मोतीले पत्नीलाई आरोप लगायो, पुष्करलाई ख्वाई भनेर । पुतली पनि के कम थिइन् र । प्रत्यारोपमा उत्रिइन् । पतिलाई सेल्स गर्ल मनकुमारीको वात लगाइदिइन् । पसलको दाम उसैलाई पोसिरहेको छ रे!

पसलमा पति—पत्नीबीच बहस चलिरहेको थियो । एकजना ग्राहक आइपुगे । नाम राजेश । शरीरमा आगो लगाउने उमेरका थिए उनी । यद्यपि, पुतलीको जवानीले उनलाई तानीतानी ल्याउँथ्यो । मनलाई कुतकुत्याउँथ्यो।

बूढा राजेशले आलोचना गरे-‘सधैँभरि पत्नीलाई किन टोकिरहन्छौ मोतीमान ? यत्ति राम्री र जाती नारीलाई पत्नीको रूपमा पाउँदा पनि कहिल्यै खुसी हुन जानेनौ हगि ?’

– ‘तिमी चुप लाग बूढा !’ एक्कासि झम्टिन खोज्दै तल्लोस्तरको व्यवहार ग¥यो मोतीमानले । ऊ राजेशलाई काका भन्थ्यो । तर डाँकाप्रति गरिने व्यवहार देखायो । उसको पारिवारिक झगडामा हात हाल्ने हैसियत के ? दुईचार हजारको ग्राहकको यत्रो हिम्मत ? त्यो पनि उधारो नै खाएर?

पुतलीले राम्रो मानिनन् । पतिलाई हकारिन् । जसको जौ खानु, उसकै जुङ्गा उखेल्नु ! उनले पतिको विगत खोतलिन् । तीतो सत्य कुराको उजागर गरिदिइन् पुतलीले। मोतीमानको बाबुलाई राजेश काकाले ठूलो गुन लगाएका थिए । राजेश काकाले उतिखेर विनाब्याजमा ऋण दिएर पसल बचाइदिएका थिए । नत्र त यत्रो विरासत कहाँ हुन्थ्यो?

मोतीमान चट्याङ्गजस्तो भयो ! पत्नीलाई बेसरी हका¥यो । राजेश काकालाई पनि बाँकी राखेन । काम न काजसँग पसलमा ढुक्न आउँछन् बूढा ! सिधा भन्न नमिलेर मात्र हो। राजेश काका पुतलीको अनुहार हेर्नकै लागि उसको पसलमा आउँछन्।

राजेश काका फन्केर हिँडे।

दिउँसोको घटनाले पुतलीको मुड बिग्रिएको थियो । पतिको रिस राति गाजलीसँग पोखिन् । गाजलीले बहिनीलाई आपूmसँगै सुताउन मानिन । आमाले बेसरी झपारिन् । बहिनीले दिदीसँगै सुत्न नहुने कारण के?

गाजलीले हाकाहाकी भन्दिई । ऊ अब बच्ची छैन । एक्लै सुत्न मन लाग्छ । बहिनीले सुसु गरेर बेसरी गन्हाएको ओछ्यानमा कसरी सुतोस् ? कान्छी छोरीसँग आमालाई सुत्न के प्रोब्लेम छ ? आम्मै ! आमासँग प्रतिप्रश्न ? आमा पनि किन झुक्थिन् । सिधै शब्दवाणले ठोकिन् । बहिनीसँग नसुत्ने भए त्यै गुण्डो प्रतापेसँग सुतोस् न त !

बस् ! गाजलीलाई पुगिहाल्यो । ऊ यत्ति रिसाई, आमाको थुतुनो लुछिदिन खोजी । उसको चेताउनीको भाषा पनि खतरा थियो । आइन्दा प्रतापसँग जोडेर गाली गरिन् भने…! गाजलीले कोठा थर्काई । लौ जा त ! पुतलीले कपालमा समातेर क्वाइँक्वाइँ पारिन् । सानी छोरी हाँस्न थाली।

राति त्यस्तो घटना घटाइन् आमाले । भोलिपल्टचाहिँ त्यही जेठी छोरी काम लागी । मोतीमान घरमा थिएन । पुतलीले गाजलीलाई पसलमा बस्न आदेश दिइन् । कन्तुर सफाइ गर्न पल्केकी छोरीले नमानोस् त ? सहर्ष स्वीकार गरी । त्यतिखेर उसले प्रतापलाई सम्झेकी थिई।

तर गाजलीको त्यो उत्साह पलभरमै पानीको फोकामा परिणत भयो । आमाले कन्तुरमा ताल्चा ठोकिदिइन् । कडा आदेश पनि जारी गरिन् । विक्री भएका सामान र पैसाको लगत राखोस् । नत्र…।

पुतली पुष्करसँग मोटर ड्राइभिङ सिक्न भ्यानमा चढेर बाटो लागिन् । मोटर उनीले हाँकिन् । पुष्कर उनीसँगै बसेको थियो । पुतली भाउजूको तातो हात र सासले गर्मी पारिरहेको थियो उसलाई । करिब एक घण्टा बित्यो । पुतलीले एउटा पार्कभित्र भ्यान रोकिन् । पुष्करले बदाम किनेर ल्यायो र खाँदै भलाकुसारी गर्न लागे ।

पुतलीले भनिन्— ‘तिमीले मेरो इच्छालाई पूरा गर्न सघाउनुपर्छ पुष्कर।’

पुलकित हुँदै बोल्यो पुष्कर— ‘भैहाल्छ नि पुतली भाउजू ।’ पुतली सरकारी महिला चालक पदमा नोकरी गर्न चाहन्थिन् । उनलाई सहयोग गर्न पाउँदा पुष्कर कुतकुतिन्थ्यो । पुतली भाउजूप्रतिको अनुराग भित्रभित्रै उम्लेर आउँथ्यो ।

बदाम खाँदै पुष्करको आँट भरिएर आयो । उसले पुतली भाउजूलाई तिमी भन्न थालिसकेको थियो । अहिले पनि तिमी-तिमी भन्दै मोतीमानप्रति कटाक्ष गर्न थाल्यो । उसको कन्चटमा उम्रेका पसिनाका दानालाई पुतली भाउजूले पुछिदिइन् । पुष्करले एकटकले हेरिरह्यो । तर भन्न केही सकेन।

अन्ततः त्यो दिन पनि आइपुग्यो।

पुतलीले पुष्करको सहयोग पाएर गाडीको लाइसेन्स पाइसकेकी थिइन्। उनले लोकसेवाको फाराम भरिन्। छोरीले पत्याइन्। पतिले त झनै कडा आलोचना गर्‍यो। पसल चलाउन छाडेर सरकारी नोकरी गर्ने ? त्यो पनि चालक पदमा ? मोतीमानसामु पुष्करको कालो छायाँ ठिङ्ग उभिन आइपुग्यो। खासमा भ्रम थियो त्यो। त्यो पुष्करलाई अहिल्यै निमोठेर मार्न पाए..! उफ ! कत्ति नमिठो भाव पलायो उसको मनमा।

मोतीमानले दाह्रा किट्यो । फेरि लगत्तै शान्त भयो । फिस्स हाँस्दै पत्नीप्रति उपेक्षाको छारो उडायो । आजको सोर्सफोर्सको जमानामा लोकसेवा पास गर्ने ? त्यो पनि पुतलीजस्ती गोज्याङ्ग्रीले?

ठीक छ । बाजी नै भयो । पुतलीले पतिसँग बाजीको प्रस्ताव राखिन् । उनले जितिन् भने मोतीले एउटा छोरो दिनुपर्ने । हारिन् भनेचाहिँ कहिल्यै पनि जागीरको सपना देख्ने छैनन्।

पति मञ्जुर भयो । तर गाजली रिसाई । बाजीको कुराले हैन, छोरा—वादलाई प्रश्रय दिए भनेर । फेरि अर्को कुरा पनि त छ । यो उमेरमा आएर छोरा चाहियो भन्दा लाज हुन्न ? आमालाई निहँु मात्र चाहिएको थियो । बाबु—आमाको कुरा सुन्दै बसेकी भनेर बेसरी छासिन् । अलि बढी नै भनिन् । गाजलीका दिदीबहिनीलाई जन्माउँदा त लाज भएन । अब छोरा पाउने कुरा गर्दा लाज हुन्छ ?

पुतलीले फेरि प्रतापको नाम लिइन् । छोरी नखरमाउली भई । ऊ ब्वाइफ्रेण्डसँग केके गर्दै हिड्छे । काँडाको घारीले छेक्छ ? मान्छेले चियो गर्दैनन् ? आमाबाबुसामु ठीक्क पार्छे ! इमान्दार बन्न खोज्छे ।

आहा ! काइदा भो ! गाजलीले लोकसेवाको फाराम ध्यार्र च्यातिदिई । कोसिस त उसको ठूलै थियो । तर आमाले खोसिहालिन् । जगल्टाको सत्यानाश पार्ने दाउमा थिइन् । तर छोरी उछिट्टिइहाली । पतिले टिप्पणी गरिहाल्यो । फाराम च्यातिनु त अपसगुन हो नि । मतलव, पुतलीको जाँच नराम्रो…।

अलच्छिनी मुख…! पतिको सातो लिइन् पुतलीले । मोतीमान चुप्प लाग्यो । पुतलीसँग जगेडा फाराम पनि थियो । त्यही फाराम भरिन् ।

अचम्मै भो ! पुतलीले लोकसेवामा नाम निकालरै देखाइदिइन् । टोलछिमेकका मान्छेहरू छक्क परे ! मोतीमान साहुकी पत्नी महाप्रवन्धकको मोटर हाँक्ने चालक ! बाँच्नु मात्र पर्छ, क्या क्या देख्नपर्छ !

हुन पनि सरकारी प्रशासनको इतिहासमा त्यो नवीन आयाम थियो । ऐतिहासिक घटना थियो । तर जागीरमा नयाँ आयाम थपिए पनि पसलको बेपारमा ब्यायाम पुगेन । व्यापार चौपट हुँदै गयो ।

ग्राहकहरूले हेप्न थाले । अरू त अरू भैहाले । बेकामे राजेश काकाले समेत मोतीमानको धज्जी उडाइदिए । भन्न पनि कसरी सकेका हँ ? पसलमा पुतली छैन । किन आउनु अब ? उधारै खानु छ भने अन्त पनि त पसलहरू छन् ।

मोतीमान पनि मौकाको ताकमा थियो । राजेश काकाले त्यो अवसर जुटाइदिए । तब मोतीले वर्षौँदेखिको उकुच निकाल्यो । मज्जाले भन्यो । राजेश काकाजस्ता स्वास्नी टोकुवाले फुइँ लगाउने ? जसको पसलको उधारो घिच्नु छ, उल्टै उसमाथि अपशब्द प्रहार गर्ने ? के मोतीमानकी पत्नी बुटिक शपमा उभ्याइएकी मैन—पुतली हो ?

आम्मै नि ! मोतीमानले त राजेश काकालाई भित्तैमा पु¥यायो । अपशब्दका विशेषणहरूको बाढी लगायो । भ्रष्टाचारी भन्यो ! फँुडो भन्यो ! भन्ने तरिका मात्र ठीक थिएन । तर कुरा साँचो थियो । उमेरमा त पैसा कमाएकै हो नि । तर बजारिया महिलाहरूको गाला मुसार्दै लाखौँ सम्पत्ति सिध्यायो । बुढेसकालमा छोरीहरूको दानमा बाँचेका छन् ।

मोतीमानले कुण्ठा निकालेरै छाड्यो । मर्ने बेलामा अर्काकी पत्नीप्रति कुदृष्टि लगाउन लाज लाग्दैन बूढालाई ? बूढालाई त लाज भएन रे । मोतीमानलाई नि ? आपूm मात्र चरित्रवान् छु भन्ठान्छ ऊ ? सेल्स गर्ल मनकुमारीसँग लसपस छैन मोतीमानको ?

बूढा राजेशले पनि मोतीको पोल खोलिदिए । आम्मा हो नि ! मनकुमारीलाई दुई लाख रुपियाँ पोसेको रहेछ ? राजेश काकाले मोतीमानको पसल सुकाइदिने चेताउनी दिए । ग्राहकहरूलाई भड्काउने काममा लाग्नेछन् उनी, आजैबाट।

के लछार्छन् बूढाले ! भो त अब ? मोतीले त राजेश काका-साका भनेन । चश्मा खस्ने गरेर लोप्पा ख्वाइदियो ! पसलमा जात्रै देखियो । मानिसहरूको भीड जम्मा भयो । तर दोष मोती साहूकै हो भनिदिए । मोतीको रिस गर्नेहरूले काखी बजाए ।

एकदिन मोतीमानले पुतलीसँग वेदना पोख्यो । ऊसँग दुइटै उपाय थिए । कि पत्नीले जागीर छाड्नुपर्छ । महिला भएर रातबिरात घर आएको राम्रो हुन्न । हाकिमले शोषण गरिरहेछ । यदि जागीर नछाड्ने हो भने पसल बन्द गरे भयो । बल्लतल्ल पाएकी जागीर छाड्ने ? पुतली जरक्क जर्किइन् । परीक्षणकालमै नोकरी छाड् भन्ने ? कत्रो आँट हँ ?

पुतलीले हाकाहाकी भनिदिइन्, उनी बेतलबी गृह—श्रमिक होइनन् । सरकारी जागिरे नारी हुन् । पसल बन्द होस् । व्यापार चौपट होस् । उनले ठेक्का लिएकी छिन् पतिको पसल चलाउन ? परपुरुषसँग हाँसेकी, बोलेकी र जिस्केकी मन नपराउने मान्छेले किन पसलमा राख्ने पत्नीलाई ? अहँ, कुनै हालतमा पुतलीले नोकरी छाड्ने छैनन् ।

ल खत्तम भो ! पुतलीले हाँकेकी मोटर ठूलो दुर्घटनाको शिकार हुन पुग्यो । मोतीमान सास न बाससँग अस्पताल पुग्यो । हाकिमको टाउको फुटेको थियो । पुतलीको चाहिँ एउटा गोडा काम लागेन । मोतीमान डरले बेसरी काँप्यो । करिब एक महिनासम्म अस्पताल धाउन विवश भयो ऊ ।

घरमा आएपछि पति—पत्नी अँगालो मारेर धेरै बेरसम्म रोए । जेठी छोरी गाजलीले पनि आपूmलाई रोक्न सकिन । कान्छी छोरीको सातै उड्यो !

अन्ततः पुतलीको स्वतन्त्रतालाई एकजोर वैशाखीले कब्जामा लिइदियो । अस्थायी नोकरी थियो । चुँडिएको चङ्गासरी लापत्ता भयो । छोरो जन्माउने चाहनालाई दुर्घटनारूपी आँधीले बढारेर लग्यो । ठूलो सपना देख्ने आँखालाई अविरल आँसुले छोपिदियो।

एकदिन गाजलीले पसलको पैसामा हात लामो गर्दागर्दै आमाले फेला पारिन् । तब गाला पड्काउँदै स्पष्टीकरण मागिन्— ‘यो पैसा लगेर कस्लाई दिन्छेस् ?’

गाजलीले ठाडो जवाफ दिई-‘प्रतापलाई दिन्छु । स्कुल पढ्दाखेरी ट्युसन पढाएको फी तिर्न…।’ उसको वाक्य नतुरिँदै आमाले तोरीको फूल देखाइदिइन् । उनको आरोप थियो, गाजलीले पैसा चोर्ने गरेकीले नै पसलको सह गएको रहेछ ! आमाले कडा चेताउनी दिइन् । आइन्दा पैसामा हात लगाई हातै काटिदिन्छिन्।

पुतलीले पसलको उधारो खाता पल्टाउँदै गइन् । उधारो रकम यत्ति धेरै रहेछ, झण्डैझण्डै मूच्र्छा परिन् उनी । करिब साठी प्रतिशत उधारोवालाहरू आफ्नै डेराबासीहरू थिए । पुतलीलाई रिस उठ्यो । पीडा पनि भयो । अर्को कुराले त उनलाई थचक्कै बसाइदियो।

करिब तीन घण्टाको बीचमा उनको पसलमा एकजना ग्राहक पनि आएन। तर छिमेकीको पसलमा ग्राहकहरूले पालो पाएका थिएनन्। पुतली वैशाखी टेक्दै त्यहाँ पुगिन्। उनले देखिन्, त्यो पसलमा एउटी राम्री केटी समान बेच्दै रहिछ। अनायासै पुतलीका आँखा भरिए । तर त्यो पसलको साहूचाहिँ मुसमुसु हाँसिरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *