अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने

डिसी नेपाल
१२ माघ २०७८ १८:३७

काठमाडौं। भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको आज अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् ।

इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे। योसँगै ‘नयाँ युग’को सुरुआत भएको पनि उनले बताए ।

“व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातय लागि यसले महत्वपूर्ण औजारका रूपमा काम गर्नेछ”, उनले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।” त्यस्तै उनले भन्सार बिन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधारअन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । “हामीले इपेमेन्टको सुरुआत गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ”, उनले भने, “कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।” सबै वस्तु आवश्यकपर्ने मात्र नआउने भन्नुहुँदै उनले नेपाल र छिमेकी राष्ट्रको सुरक्षामा खतरा हुनसक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरेका हुन् ।

उनले भन्सार बिन्दुमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझाव सरकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए।

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यवृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै उनले अर्थतन्त्र धरासायी नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *