राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्न एमालेले छानवीन समिति गठन गर्ने

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा अन्तर्घातका कारण आफ्ना उम्मेद्वार पराजित भएको भन्दै छानवीन कमिटी गठन गर्न एक नम्बर प्रदेशले केन्द्रलाई अनुरोध गरेको छ।
राष्ट्रियसभा निर्वाचनमा दुई जना प्रदेश सदस्य र केही पालिका प्रमुख र उपप्रमुखले अन्तर्घात गरेको पाइएको नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश १ का सहइन्चार्ज शेरधनराईले जानकारी दिए।
‘हिजोमात्रै प्रदेशले केही निर्णय गरेको छ, अन्तर्घातकै कारण हाम्रा उम्मेद्वार हारेको पुष्टि भएको छ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले डिसी नेपालसँग भने, ‘यो विषयमा पार्टीले छानवीन कमिटी गठन गर्छ, अन्तर्घात गर्ने माननीयलाई पत्ता लगाएपछि कारवाही पनि हुन्छ।’
उनले एक नम्बर प्रदेशमा गठबन्धन भन्दा एमालेको १८१ मतभार कम रहेको उल्लेख गर्दै आफूहरुले कडा मेहनत गरेर पार्टीका उम्मेद्वार जिताउने वातावरण बनाएको तर पार्टीभित्रकै अन्तर्घातका कारण आफ्नो उम्मेद्वारले पराजय व्यहोर्नु परेको बताए।
उनले अन्तिम समयसम्म पनि राप्रपासँग सहकार्य गर्ने तयारी गरेको तर त्यो सफल हुन नसकेको जनाए। ‘हाम्रो सम्पूर्ण ध्यान आफ्ना उम्मेद्वारलाई जिताउनतिर केन्द्रित थियो,’ उनले भने, ‘तर हामीले हाम्रै पार्टीभित्रबाट अन्तर्घात होला भन्ने सोच्दै सोचेनौं।’
Facebook Comment